दुबईमा नेपाली युवाको बिचल्ली, भन्छन्– ‘म कुनै पनि हालतमा नेपाल फर्किन चाहान्छु’

म्यान पाबर र एजेन्टले वास्ता नगरेको गुनासो

दियो पोस्ट  

काठमाडौँ । संयुक्त अरब इमिरेन्ट्स (दुवई)मा रोजगारीको शिलशिलामा गएका एक युवाले आफू बिचल्लीमा परेको बताएका छन् । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–१, फाप्रेका जीवनराज आचार्यले आफु समस्यामा परेको भन्दै छिटोभन्दा छिटो नेपाल फर्काइदिन अपिल गरेका हुन् ।

नेपालबाट दुवई जाँदा म्यानपावर कम्पनीले ‘काम सजिलो र आरामदायी छ, सामान प्याकिङ्ग गर्ने हो’, भनेर पठाएको थियो । तर, त्यहाँ पुगेपछि सर्त अनुसारको काम नपाएको उनको गुनासो छ । भन्छन्, ‘यहाँ म बिजोग अवस्थामा छु, १२ घण्टा उभिएर काम गर्नु पर्छ । एक सेकेन्ड यता उता गर्न पाइदैँन ।’ यद्यपी, अन्र्तराष्ट्रिय श्रम संगठन (आइ.एल.ओ)को मापदण्ड अनुसार पनि श्रमिकलाई आठ घण्टा भन्दा बढी काम गराउनु गैरकानुनी मानिन्छ ।

यतिबेला आफ्नोे आँखामा गंभिर समस्या आएको उनी बताउँछन् । ‘आँखा दुखेर नजिकैको बस्तु पनि चिन्न नसक्ने अवस्थामा छु । कम्पनीले पानी पिए पछि निको हुन्छ भन्छ । उपचारका लागि कम्पनीमा धेरै पटक कुरा गरेँ तर, कसैले मेरो समस्या सुन्दैनन् । जतिसक्दो नेपाल फर्किएर आँखाको उपचार गर्न मन छ, नत्र मेरो आँखा खत्तम हुने भयो ।’ उनले रुँदै भने ।

उनले सामाजिक संजाल फेसबुकमा समेत लामो स्टाटस लेख्दै उनले आफ्नो पीडा यसरी ब्यक्त गरेका छन्:
‘म बिदेशमा तडपिएर बसेको आज १० दिन भएको छ !
मेरो हालत यस्तो छ भने अन्यको के होला ?
आएको ६ दिन देखि लगातार एकै बस्तुमा ११ घन्टा १ सेकेन्ड खुट्टा नहाल्लाई उभिएरै काम गर्दा आँखा नै हेर्न र बस्तु छुट्टाउन गार्हो परिरहेको छ !!
कम्पनी उपचारको नाममा पानी खा ठिक हुन्छ भन्ने जबाफ दिन्छ !!
आँखा हस्पिटल रिफर गरेको छ तर लैजान मान्दैन !!
नेपाल फर्काउन भन्दा ३ लाख बुझा मात्रै भन्ने जबाफ कम्पनी बाट आउँछ !!
पटक पटक निबेदन लिएर गएको छु एक सुन्दैन !!
पीडा हुदा नाटक गरेको छ भन्ने जबाफ दिँदा मन भन्दा शरीर यत्ति अत्तालिएको छ कल्पना सम्म गर्न सकेको छैन !!
नेपाल बाट पठाउन सहयोग गर्ने म्यान पाबर अनि पठाउन सहयोग गर्ने एजेन्ट हरुलाई भन्न थालेको १० दिन भईसक्यो केही जबाफ आउदैन :
हुन्छ हुन्छ मात्रै भनिरहेको छन !!
अर्काको देश अर्काको ठाउँ प्रमुख अंग आँखामै समस्या हुँदा कम पीडा हुन्छ त्यो कल्पना भन्दा बाहिरको हो !!
आँखाको तनाबले मानसिक सङ्गै पूरा सरिरमा दबाब दिएको छ आपत परेको छ !! किन उद्दारको निम्ति काम भएन !!
म म्यानपाबरको नाम एजेन्ट सबैको नाम एक एक कुरा लिएर अर्को पोस्ट गर्ने छु !!
मैले हद भन्दा बढी सहेर बसे अब शरीर भन्दा ठुलो केही होईन सबै कुरा खोल्दिन्छु !!
कसैले चरित्र हत्या गर्न खोजेको होईन !!
आफ्नो पीडा पोख्दा चरित्र हत्या हुन्छ भने होस फरक पर्दैन !!
अन्य कष्टदायी पीडा कति परेको छ म यहाँ खोेलेको छैन आफ्नो पीडा आफै सङ्ग छ !!!
त्यसैले अब म सकिन !!
सबै कुरा यसरी लेख्न बाध्य भएको छु !!!’

उनले आफुले काम गर्ने कम्पनी जेल भन्दा कम नभएको भन्दै आफु त्यहाँबाट मुक्त हुन चाहेको बताए । भन्छन्, ‘म कुनै पनि हालतमा नेपाल फर्किन चाहान्छु । कृपया मलाई सहयोग गरि नेपाल फर्काउने पहल गरिदिनु होला ।
उनी आज भन्दा २४ दिन अघि काठमाडौँस्थित ‘गणपती ओभरसिज’ नामक म्यानपावर कम्पनी मार्फत दुवई पुगेका थिए । दुवईमा कामको राम्रो डिमाण्ड आएको छ भन्दै अर्धाखाँचीकै बिष्णु सुबेदीले पहल गरेर दुबई पठाएको उनको भनाई छ । तर, आफ्नै गाउँठाउँको भएर पनि सुबेदीले आफ्नो समस्याको सुनुवाई नगरेको उनी बताउँछन् ।
यता, बिष्णु सुबेदीले जीवनराजको समस्याप्रति आफु गंभिर भएको प्रतिकृया दिए । सुबेदी भन्छन्, ‘हामीले जीवनराजसंगै २१ जना युवालाई दुवई पठाएका थियौँ । तर अरुले काम राम्रै छ भन्दै काम गरिरहेका छन् । उनलाई समस्या भएको हो भने हामीले नेपाल ल्याउन पहल गर्छौँ ।’