अवैध लागूऔषध सहित तीन जना पक्राउ

दियो पोस्ट  

मोरङ । अवैध लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित ढाटबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५० एम्पुल, एभिल ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका–७ बस्ने १९ वर्षीय दिपेश मगर र झापा दमक नगरपालिका–४ बस्ने १९ वर्षीय राजन बिक रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।साथै कैलालीको गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडस्थित आश्रम टोल बस्ने २८ वर्षीय भरत बिकलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।