ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्रीको गाडी आन्दोलनकारीद्वारा तोडफोड

- युवराज पहाडी  

ओखलढुंगा। ओखलढुंगामा कोशी प्रदेशका  मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोड गरिएको छ । कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण नगरपालिका–११ को गोरुमारेभन्जयाङ चोकमा मुख्यमन्त्री कार्की सवार गाडी तोडफोड गर्नुका साथै गाडीमा राखिएको झण्डा निकालेर फालेका छन् ।

मुख्यमन्त्री कार्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरु उद्घाटन र शिलान्यस गर्न हिजो ओखलढुंगा गएका थिए । मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै आन्दोलनकारीले विहानै देखि सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम गरेका थिए । आन्दोलनको नेतृत्व किँरात राई यायोख्खा जिल्ला कार्य समिति र नेपाल आदिवासी जनजाति महासंघले गरेको हो ।

आन्दोलनको नेतृत्व गरिरहेका थगेन्द्र राज राईका अनुसार आन्दोलनमा सहभागि एकजना घाइते भएका छन् । कडा सुरक्षाकाबीच ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण नगरपालिका–१ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न मुख्यमन्त्री कार्की जाँदै थिए । मुख्यमन्त्री विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीले कालोझण्डा समेत देखाएका थिए । सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीबीच केही समय झडप समेत भएको थियो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा प्रमुख दिपक बहादुर केसीका अनुसार गाडीमा कुनै क्षती नभए पनि आन्दोलकारीले अवरोध गरेका थिए । ‘गाडीमा त्यस्तो कुनै क्षती भएको छैन, आन्दोलनकारीले अवरोध भने गरेका हुन्’, उनले भने । साथै झडप नभएको उनले  बताएका छन् ।