
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई पूर्णता दिने प्रयत्न थालेको बताएका छन् । संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको उनले बताए ।
मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा पन्थडिही–कटहरे–हर्मी–साहिलीटार सडकको शिलान्यास समारोहलाई सम्बोधन गर्दै दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग मंगलबार बिहानदेखि वार्ता र संवाद सुरु भएको बताए ।
‘हिजोबाट फेरि राजनीतिक वातावरण वनेको छ, लय पक्रिएको छ,’ उनले भने,‘ सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ ।’ देशलाई सुशासन सामाजिक न्याय र समृद्धिको अभियानतर्फ लैजाने दाहालले बताए ।
जनताको विकास निर्माण र समृद्धिको आकांक्षा सम्बोधन गर्न संघ प्रदेश र स्थानीय तहसँग एकीकृत रुपमा अघि बढ्ने उनले बताए ।