काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि ‘साबिकका मन्त्रालयहरू पाउनुपर्ने’ शर्त अघि सारेको छ । यसअघि सरकारमा जाँदा पाएका तीन मन्त्रालयहरूमा उसले दाबी गरेको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि सहभागी रहेको रास्वपाले गृह मन्त्रालयसहित शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय पनि पाएको थियो । साथै, स्वास्थ्य राज्यमन्त्री पनि पार्टीको भागमा परेको थियो ।
फेरि पनि तीनै मन्त्रालय पाउने शर्तमा मात्रै पार्टी सरकारमा जाने ढोका खुल्न सक्ने प्रवक्ता डा.मुकुल ढकालले बताए । ‘यदि हामीले पहिले पाएको मन्त्रालयमा कुनै तलमाथि हुन्छ भने हामी सरकारमा सहभागी हुन सक्दैनौं,’ डा. ढकालले भने ।
तर, प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय आफ्नै पार्टीसँग राख्ने तयारी गरेका छन् । अहिले सरकारमा भौतिक योजनामन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई गृहमा सार्ने उनको योजना छ । प्रवक्ता ढकालले यस विषयमा आफूहरूलाई कुनै आधिकारिक जानकारी नरहेको बताए ।
‘हाम्रो न्यूनतम शर्तका विषयमा प्रधानमन्त्रीज्यू जानकार नै हुनुहुन्छ । संसदको चौथो शक्ति भएका हिसाबले पनि भागबन्डामा हामी यति डिजर्भ गर्छौं भन्ने हो,’ उनले थपे । ण्मन्त्रालय भागबन्डा टुंग्याउन आज गठबन्धन बैठक बस्दैछ । रास्वपा यो बैठकमा सहभागी नहुने डा. ढकालले संकेत गरे ।
‘हामी सरकारलाई विश्वासको मत दिए पनि अहिलेको सत्तारुढ गठबन्धनमा छैनौं । त्यही भएर उपचुनावमा कसैसँग तालमेल नगरी आफैंले उम्मेदवार दिने निर्णय लिइसकेका छौं । गठबन्धनको बैठकबारे हामीलाई जानकारी आएको छैन,’ उनले भने ।
यदि गठबन्धनको बैठकमा बोलाइयो भने पार्टीले आवश्यक निर्णय लिने उनको भनाई छ ।