
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएको बताएका छन् । मिटर ब्याज पीडितहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै महानगरपालिकाको आलोचना भइरहेको बेला मेयर साहले सो धारणा सार्वजनिक गरेका हुन् । खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन भन्दै मेयर साहले फेसबुकमा लेखेका छन्, ‘तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।’
बर्दिवासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुलामञ्चभित्र प्रवेश गर्न खोज्दा काठमाडौं महानगरपालिकाका नगरप्रहरीहरुले रोकेका थिए । त्यसपछि उनीहरु खुला आकास मुनि सडकमै रात बिताएका थिए ।
मेयर साहले मिटरब्याज पीडितहरुको आन्दोलन सडकमा बस्नका लागि नभई न्यायका लागि हो भन्दै मन्त्रिपरिषद्ले यथाशीघ्र उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
पीडितहरुलाई केही घण्टामै न्यायको अनुभूति दिलाउनु पर्नेमा त्यसो नगरी सम्पूर्ण चासो र परिश्रम खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौं वा वर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो,’ मेयर साहले भनेका छन्, ‘यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’
