काठमाडौं। लजिस्टिक कम्पनी उपायले १ अर्ब २० करोड रुपैयाँ लगानीमा साँगामा थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्ने भएको छ । नेपाल प्रहरी स्कुल नजिकै कम्पनीले आफ्नै १८ रोपनी जग्गामा वेयरहाउस निर्माण गर्न लागेको हो।
आगामी महिनाबाट निर्माण सुरु गरेर सन् २०२६ को अन्त्यसम्ममा काम सक्ने लक्ष्य कम्पनीले राखेको छ। कम्पनीले वेयरहाउस निर्माणका लागि सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहभागितासहित ९५ करोड रुपैयाँको कन्सोर्टियम ऋण व्यवस्थापन गरेको छ। जसको फाइनान्सियल क्लोजर गरिएको छ।
वेयरहाउस परियोजनामा डोल्मा इम्प्याक्ट फण्ड–२ तथा अन्य लगानीकर्ताले पनि पुँजी लगानी गर्दैछन्। कार्यक्रममा कन्सोर्टियम ऋणको अगुवाईकर्ता सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नेपालमा वेयरहाउस इन्फ्रास्ट्रक्चरको अपार सम्भावना रहेको बताए।
’यो परियोजना नेपालको पूर्वाधार क्षेत्रको विकासका लागि महत्त्वपूर्ण आधार बन्नेछ,’ पोखरेलले भने।
उपायले निर्माण गर्न लागेको वेयरहाउसले विभिन्न प्रकारका वस्तुजस्तै– फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी), फास्ट मुभिङ कन्ज्यूमर ड्यूरेबल्स (एफएमसीडी), ई–कमर्स, क्विक कमर्स, खुद्रा चेन स्टोर, लुगाफाटा÷जुत्ता÷सौन्दर्य सामग्री, इलेक्ट्रोनिक्स तथा अटो पाट्र्सको इन्भेन्टरी व्यवस्थापन गर्नेछ।
प्रस्तावित वेयरहाउसको ग्राउन्ड कभरेज ४५ हजार वर्गफिट हुनेछ। कुल भण्डारण क्षमता १ लाख वर्गफिटभन्दा बढी रहने कम्पनीले जनाएको छ।
उपायको वेयरहाउस अत्याधुनिक पूर्वाधारयुक्त हुने छ । जसमा ग्रेड ए प्री–इन्जिनियर्ड बिल्डिङ स्टिल संरचना प्रयोग गरिने बताइएको छ। जसले भूकम्पबाट हुने क्षति न्यूनीकरण समेत गर्नेछ ।
साथै, यसमा हाई डेन्सिटी याकिङ र मल्टी टायर सेल्भिङसहित ग्राहकको आवश्यकताअनुसार डिजाइन गर्न मिल्ने ’बिल्ट–टू–सुट’ सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
ड्ड यो वेयरहाउस भारतीय कम्पनी कोरस्पेस डिजाइन एलएलपीले डिजाइन गर्दैछ । संरचना वातावरणमैत्री तरिकाले निर्माण गरिने भन्दै कम्पनीले त्यसका लागि फोहोर व्यवस्थापन र वर्षाको पानी संकलन प्रणाली समेटेर निर्माण गरिने जनाएको छ ।
उपायका सह–संस्थापक तथा निर्देशक रन्जिव श्रेष्ठले आवश्यक पूर्वाधारको अपर्याप्तता तथा उचित व्यवस्थापनको कमीले नेपालमा लजिस्टिकको लागत अर्थतन्त्रको करिब २० प्रतिशत रहेको जानकारी दिए ।
’उपाय वेयर हाउजिङ प्रविधिको माध्यमद्वारा सक्षम पूर्वाधार कम्पनीका रूपमा अघि बढ्नेछ। हामी अन्य सहरहरूमा पनि यस्ता वेयरहाउसहरू निर्माण गर्ने योजना बनाइरहेका छौं। जसबाट हामी दक्षता, प्रविधि र पूर्वाधारमार्फत लजिस्टिक लागत घटाउन सकिन्छ भन्ने बाटो देखाउन र नेतृत्व गर्न चाहन्छौं,’ श्रेष्ठले भन े।
यस्तै, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हाल बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम प्रशस्त भएतापनि लगानीयोग्य परियोजनाहरू सीमित रहेका कारण चुनौतीहरू रहेको उल्लेख गर्दै यस्ता नवीनतम अवधारणाले समग्र राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उपायका सह–संस्थापक तथा प्रबन्ध निर्देशक सुमन रायमाझीले वेयरहाउसले ग्राहकलाई भण्डारण तथा इन्भेन्टरी व्यवस्थापनको जिम्मेवारी पूर्णरूपमा उपायलाई हस्तान्तरण गरी आफ्नै मुख्य व्यवसायमा ध्यान केन्द्रित गर्दै व्यवसाय विस्तारलाई सहज बनाउने बताए ।