काठमाडौं । फेक रेस्क्यु धन्दाका मुख्य योजनाकार मध्येका एक राजेन्द्र बहादुर सिंहले यो धन्दाको प्रमाण लुकाउन खेलेको भूमिकाको अडियो फेला परेको छ । हाल फरार सुचीमा रहेका प्रतिवादी श्याम सुन्दर कँडेलसँग उनले रेस्क्युको प्रमाण मेटाउन भूमिका निभाएको अडियो फेला परेको हो ।
उनै सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरी शर्मा काफ्ले न्यायधिवक्ता गोविन्द शर्मा हुमागाइँले मुद्दा नचलाउने निर्णय गरेर उन्मुक्ति दिएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले लामो अनुसन्धानपछि ३३ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गर्न सिफारिस गरेको थियो । सिहंलाई पनि पक्राउ गरि मुद्दा अभियोजन गर्न सिफारिस गरेको थियो । तर, सिंहलाई भने प्रमाण नभेटिएको भन्दै सरकारी वकिल कार्यालयले उन्मुक्ति दिएको छ । जबकी माउन्टेन हेलिकोप्टर सर्भिसका महाप्रबन्धक रहेका उनले नागरिक उडयन प्राधिकरणमा फेक रेस्क्युको डाटा उपलब्ध नगराउन लबिइङ गर्ने देखि पर्यटन विभागमा अब देखि रेस्क्यु भन्ने शब्द नै नराख्न लबिइङ गरेको अडियोमा सुन्न सकिन्छ ।

सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्यायधिवक्ता कार्यालयबाट समेत सिंहलाई मुद्दा नचलाउन तिब्र दबाव आएको थियो । सिंहलाई बचाउनकै लागी सरकारी वकिल कार्यालयले ८ दिनसम्म अभियोग पेश नगरेको पाइएको छ ।

उनले सीआइबीको अनुसन्धानलाई प्रभावित पार्ने गरि विचौलियाको भूमिका निभाएका थिए । फेक रेस्क्यु धन्दामा संलग्नहरूलाई जोगाउने नियतले नागरिक उडयन प्राधिकरणसँग मिलेमतोमा गलत तथ्यांक दिलाउने भूमिकामा समेत सिंह थिए ।

उनले प्रक्रिया पूरा गरेर ठगी गर्न सिकाउनेदेखि पछि प्रमाण लुकाउनेसम्म चलखेल गरेका थिए।
त्यतिमात्रै होइन,सिंहले फेक रेस्क्यु धन्दा गर्नेहरुको पक्षपोषण गरि समाचार सामग्री प्रकाशन गर्न नागरिक दैनिक र सम्पादक गुणराज लुँइटेललाई प्रयोग गरेको अनुसन्धानबाट देखिएको सम्बन्धमा दियोपोस्टले यसअघि समाचार प्रकाशित गरेको थियो । सिंह माउण्न्टेन तथा सिम्रिक एयरका पूर्वमहाप्रबन्धक हुन्।
सिंह र कँडेलबीचको अडियो संवाद सुन्नुहोस्: