पदयात्रा पर्यटनमा हिमपातको प्रभाव

पदयात्रा पर्यटनमा हिमपातको प्रभाव

पोखरा, ५ चैत । अत्यधिक हिमपातका कारण पदयात्रा पर्यटन क्षेत्र प्रभावित भएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गसहितका क्षेत्रमा माघको दोस्रो सातायता विभिन्न समयमा परेको अत्यधिक हिमपातका कारण यो क्षेत्र प्रभावित भएको हो ।

पदयात्रा पर्यटनको दोस्रो मौसम (मार्च, अप्रिल र मे) शुरु भइसक्दा पनि पर्यटकको सङ्ख्या भने उत्साहजनक देखिएको छैन । अत्यधिक हिमपातसँगै झण्डै डेढ महीनादेखि बन्द भएको अन्नपूर्ण चक्रीय पदमार्ग खुले पनि अपेक्षित पर्यटक लैजान नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।

लमजुङको बेँसीशहरबाट शुरु भई मनाङको थोराङला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पदयात्री पर्यटक पोखरा आउँछन् । यस क्षेत्रको पदयात्रा पर्यटन चलायमान हुँदा त्यसले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पाँचौँ स्थानमा पर्दछ ।

मनाङको थोराङला भञ्ज्याङ (पाँच हजार चार सय १६ मिटर उचाइ) लाई पार गर्दै उच्च हिमाली तथा पहाडी दृश्यको अवलोकन गर्ने लक्ष्यका साथ धेरै पदयात्री पर्यटक अन्नपूर्ण चक्रीय पदमार्ग पुग्ने गर्दछन् । मनाङको दानाक्युदेखि मुस्ताङको मुक्तिनाथसम्मको पदमार्ग हिमपातका कारण बन्द गरिएको थियो ।

हिमपातसँगै पदयात्रा मार्ग बिग्रने भत्कनेका साथै अन्नपूर्ण आधार शिविरमा हिमपातले पारेको क्षतिले यस यामको पदयात्रा पर्यटन प्रभावित बनेको ट्रेक एण्ड क्लाइम्ब एडभेन्चरका सञ्चालक एवं ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताए ।

“हिमपातका कारण यस पटक पदयात्राका लागि आउने पर्यटक समस्यामा परेका छन् । यसले व्यवसायीलाई समेत ठूलो असर पारेको छ”, उनले भने, “हिमपातसँगै पदमार्ग क्षेत्र, अन्नपूर्ण आधार शिविर आदिमा पर्न गएको क्षतिलाई दृष्टिगत गरी तत्काल बिग्रे भत्केका पदमार्ग तथा संरचना पुनःनिर्माणका लागि सरकारले चासो दिनुपर्ने देखिन्छ ।”

पदमार्ग छोटिँदा दीर्घकालीन समस्या

यस याममा पर्यटक घट्नुमा हिमपात प्रमुख कारण भए पनि वर्षेनी छोटिँदै गएका पदमार्ग दीर्घकालीन समस्याका रुपमा देखिएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले बताए । उनका अनुसार यसअघि २१ दिन समयावधि लाग्ने अन्नपूर्ण चक्रीय पदमार्ग जथाभावी बाटो खन्ने क्रमसँगै एक हप्तामा टुङ्गिएको छ ।

“मुस्ताङ र मनाङका विभिन्न ठाउँसम्म सडकको पहुँच पुगेपछि पदमार्गको यात्रा छोटिएको हो”, अध्यक्ष भुजेलले भने, “जथाभावी बाटो खन्ने क्रमले पदयात्रामा जाने पर्यटकले पदमार्ग धुलाम्ये भएको गुनासो गर्न थालेका छन् ।”

नेपाल आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशतभन्दा बढी पर्यटक पदयात्रा एवं पर्वतीय पर्यटनका लागि आउने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए ।

पछिल्ला समयमा जथाभावी गरिएको सडक विस्तारले समग्र पदयात्रा पर्यटन नै धरासायी बन्ने हो कि भन्ने चिन्ता थपिएको उनले बताए । जथाभावी सडक विस्तारले भूक्षयजस्ता प्राकृतिक प्रकोप बढ्नुका साथै नेपालको पदयात्रा पर्यटनलाई गम्भीर असर पारेकोप्रति सरोकारवाला सबैको ध्यान जानु जरुरी भएको उनको भनाइ छ ।

नेपालको पदयात्रा पर्यटनमा अझै पनि स्वदेशी एवं विदेशी पर्यटकको ठूलो आकर्षण रहेका कारण आवश्यकता र औचित्यबिना बाटो खन्ने प्रवृत्तिलाई निरुत्साहन पार्नुपर्ने पर्यटन व्यवसासीहरु बताउँछन् । टान एवं पदयात्रा सम्बद्ध निकायबाट पदमार्गको संरक्षण र विकासका लागि पदयात्रा क्षेत्रलाई संरक्षण क्षेत्र घोषित गर्न सरकारसँग माग गरिए पनि त्यसतर्फ कुनै सुनुवाइ नभएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष दीपक अधिकारीले बताए ।

पदयात्रा क्षेत्रमा जथाभावी सडक नखन्न माग गर्दा विकास विरोधीको आरोपसमेत लाग्ने गरेको बताउँदै उनले पर्यटकले लाखौँ रुपैयाँ खर्च गर्ने मार्गमा रु १०÷२० हजार खर्च गरे पुग्ने किसिमले पदमार्ग छोटिनु गम्भीर चुनौती भएको धारणा राखे । यस वर्ष हिमपातले अझै पदयात्रा पर्यटनलाई प्रभावित बनाएको बताउँदै अधिकारीले अन्नपूर्ण चक्रीय पदमार्ग खुले पनि कमै मात्रामा पर्यटक जाने गरेको उहाँले जानकारी दिए ।

उनका अनुसार पदमार्ग प्रभावित भएसँगै यतिखेर मर्दी हिमाल ट्रेक र घोरेपानी घान्द्रुकतर्फ पदयात्रामा जाने क्रम भने बढेको छ । अन्नपूर्ण आधार शिविरमा हिमपातले क्षति पु¥याएपछि उक्त शिविरमा पुगेर माछापुच्छे आधार शिविरमा झरेर पर्यटक बस्न बाध्य बनेका छन् ।

पछिल्ला समयमा पदमार्ग छोटिएकै कारण अन्नपूर्ण सर्किटका स्योङ, जगत्, च्याम्से, धारापानी, ढिकुरपोखरी, चामे जस्ता धेरै ठाउँमा पदयात्री पर्यटकलाई सेवा प्रवाह गरिरहेका हजारौं परिवार उक्त पेशाबाट विस्थापित बन्दै गएका छन् ।

धम्पुस भएर अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक, लान्दु्रक जाने मार्गका साथै नयाँपुल–घोरेपानीलगायतका एकदेखि दुई दिन लाग्ने पदमार्ग छोटिएर घण्टे बाटोको रुपमा सीमित भएका छन् ।

पदमार्ग छोटिने क्रम बढिरहेका अवस्थामा पछिल्ला समयमा विकसित पोखरा–खयरलेक, पोखरा–हिडेनलेक, तेरिला पास, गुरुङ हेरिटेज ट्रेलजस्ता पदमार्गको प्रवद्र्धन आवश्यक रहेको व्यवसायीहरुको तर्क छ ।
–––

Trending News