अर्थशास्त्री मदन दाहालको निधन

दियो पोस्ट  

काठमाडौँ, ८ चैत्र । अर्थशास्त्री प्राध्यापक डाक्टर मदन दाहालको आज निधन भएको छ । पेटको रोगबाट ग्रसित डाक्टर दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक दाहालले देशको आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण कदम चालेका थिए ।

स्वर्गीय दाहाल सार्वजनिक वित्त तथा करका विषयमा जानकार थिए । उनले अर्थमन्त्रालयलाई समेत आर्थिक विकासका विषयमा नियमित सल्लाह दिने गर्थे ।

स्वर्गीय दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा पनि काम गरेका थिए ।

मेघा बैंकका पहिलो सञ्चालक समिति अध्यक्ष रहेका दाहाल आई.एस.एस.आर (इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च)का संस्थापक निर्देशक पनि थिए । उनी नेपाल आर्थिक संघका पूर्वअध्यक्ष पनि हुन् । विभिन्न आर्थिक क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका दाहालले देशको आर्थिक विकासका लागि विभिन्न योजना पनि अघि सारेका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै क्रियाशिल दाहालले देशको आर्थिक विकास, आर्थिक विकासका लागि सरकारले चाल्नुपर्ने कदम, करप्रणाली सुधारका लागि खेल्नुपर्ने भूमिकालगायतका विषयमा आफ्नो धारणा राख्दै आएका थिए ।

दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।