२७ वर्ष लामोे सङ्घर्षपछि लालपुर्जा पाए मैलीवासीले

दियो पोस्ट  

सोलुखुम्बु, १३ चैत । गोली–४ मैली सोलुखुम्बुका ८७ वर्षीय धनवीर तामाङको जीवनको सबैभन्दा खुसीको दिन बन्यो, गत मङ्गलबार । सत्ताइस वर्ष लामो सङ्घर्षपछि आफ्नै जग्गाको धनीपुर्जा पाउँदा उनका आँखामा आँसु टिलपिलाएका थिए ।

एकीकृत घुम्ती शिविर सञ्चालनका क्रममा गत मङ्गलबार गोली गाविसमा रहेको बुद्ध माविको आँगनमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जग्गा धनीपुर्जा दिएपछि शिविरमा गएका कर्मचारीलाई नमस्कार गर्दै तामाङ छमछमी नाच्न थाले । उनीसँगै सार मिलाए सोही दिन आफ्नै जग्गाको धनीपुर्जा पाएका अरु १०५ घरपरिवारले पनि । जिल्ला सदरमुकामबाट दुई दिनको पैदल यात्रामा पुगिने विकट गाउँ गोलीमा एकीकृत शिविर सञ्चालनसँगै वर्षौंदेखि जग्गा धनीपुर्जा नपाएका १०६ घरधुरीलाई पुर्जासमेत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। धनीपुर्जा पाएपछि अहिले गाउँभरि खुसियाली छाएको छ ।

विसं २०४६ मा जग्गा नापी गर्दा सो गाउँ सोलुखुम्बुमा पार्ने कि ओखलढुङ्गामा भन्ने सीमा विवाद भएपछि त्यहाँको जग्गा धनीपुर्जा वितरण गरिएको थिएन । पुर्खाको पालादेखि भोगचलन गर्दै आएको जग्गाको धनीपुर्जा नपाएपछि त्यहाँका बासिन्दा पटकपटक ओखलढुङ्गा र सोलुखुम्बुका सम्बन्धित कार्यालयमा धाए पनि उनीहरुले पुर्जा पाउन सकेका थिएनन् ।

चार वर्षअघि तत्कालीन प्रजिअ रामबहादुर कुरुम्बाङले गोली गाविसमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्दा समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि सुरु भएको प्रक्रियाअन्तर्गत चार वर्षपछि अर्को शिविर सञ्चालन गर्दै धनीपुर्जा वितरण गरिएको हो ।

गृहमन्त्रालयको निर्देशनअनुसार सोलुखुम्बु र ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत अध्ययन गरी सो क्षेत्र सोलुखुम्बुमा पर्ने ठहर गरेको प्रतिवेदन पठाएपछि डेढ वर्षअघि पूर्वाञ्चल क्षेत्रीय प्रशासन कायालयले विवादित क्षेत्र सोलुखुम्बुमा पर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा आवश्यक प्रक्रिया पूरा गरी गत मङ्गलबार त्यहाँका बासिन्दालाई जग्गा धनीपुर्जा वितरण गरिएको जिल्ला मालपोत कार्यालय सोलुखुम्बुका प्रमुख जगतबहादुर कटुवालले बताए ।

गोली–४ मैली गाउँमा अधिकांश तामाङ जातिको बसोबास रहेको छ । तीन दशकदेखि जग्गाको अंशबन्डा तथा किनबेच स्थानीय कागजपत्रको भरमा चलाउनुपर्दा समस्या भोगेका गाउँले अहिले भने निकै खुसी रहेका स्थानीय शिक्षक मानबहादुर खड्काले जानकारी दिए।