चन्द्रागिरी हिल्सको नाममा राष्ट्रिय वनमा चन्द्र ढकालको रजाईं : प्रति रोपनी २१ रुपैयाँ भाडा !

दियोपोस्ट संवाददाता

काठमाडौं, २४ फागुन । सामान्यतया व्यापारीहरु सरकारी जग्गामा आफ्नो धन्दा चलाउने दाउ गर्छन् । किनभने,‘त्यहाँ मिलेमतोमा थोरै भाडा तिरेर अत्याधिक आर्जन गर्ने उनीहरुको योजना हुन्छ । यस्ता व्यापारीको उच्च राजनीतिक घरानासँग सँधै उठबस हुन्छ नै ।

गोकर्ण रिसोर्टदेखि दरबारमार्गको जग्गासम्म यति समुहले कौडीको भाउमा हत्याएको घटना केही दिनअघिसम्म चर्चामै थियो ।


तर, सामुदायीक वन क्षेत्रको ३६ हेक्टर जमिन एक व्यापारिक घरानाले कौडीको भाउमा हत्याएर आफ्नो मनोमानी धन्दा चलाइरहेको चर्चा भने हुन सकेको छैन । त्यसरी कौडीको भाउमा हत्याउने व्यापारी हुन् –ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल


चन्द्रागिरी हिल्समा हिउँ खेल्न त सायद जानु भएकै होला । तर, सोही चन्द्रागिरी क्षेत्रको ३६ हेक्टर जमिन अर्थात ७ सय ९ रोपनी जग्गा प्रयोग गरेबापत ढकाल सहितको व्यापारीक घरानाले कति भाडा कति तिरेका होलान् ?


प्रति रोपनी प्रति महिना २१ रुपैयाँमा वन क्षेत्रको उक्त जग्गामा चन्द्रागिरी हिल्स केवलकार, रेष्टुरेन्ट देखि नक्कली भालेश्वरको मन्दिर समेत ढकालको समुहले सञ्चालन गरेको छ ।


३६ हेक्टर राष्ट्रिय प्रयोग गर्न दिए बापत सरकारले जम्मा प्रतिवर्ष १ लाख ८० हजार रुपैयाँ मात्रै बुझ्दै आएको छ ।


४० वर्षसम्म यसरी नै ढकाल समुहले चन्द्रागिरीमा धन्दा चलाउने छ । तत्कालिन वन मन्त्री दीपक बोहोराले २०६७ सालमा मन्त्रिपरिषदबाट पास गराएका थिए ।


मन्त्रिपरिषदले नै निर्णय गराएपछि २०७० वैशाख २१ गते तत्कालिन काठमाण्डु फन पार्क प्रा.ली (हाल चन्द्रागिरी हिल्स) र वन विभागबीच सामुदायीक वनमा होटल, केवलकार र मन्दिर समेत सञ्चालन गर्ने सम्झौता भएको हो ।


‘उक्त कम्पनिले कबुलियती वन प्राप्त गरे बापत नेपाल सरकारलाई वन ऐन तथा नियमावली बमोजिमबार्षिक १ लाख ८० हजार रुपैयाँ बुझाई रहेको देखिन्छ,’ २०७० साल वैशाख २६ गते तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालयका निमित्त सचिव मुकुन्दराज प्रकाश घिमिरेले गरेको एउटा निर्णयमा भनेका छन् ।


‘राजनीतिक पहुँचको आधारमा भएको यो एउटा ठूलो लुट धन्दाको प्रमाण हो,’ सामुदायीक वन उपभोक्ता महासंघका एक उच्च अधिकारीले दियोपोस्टसँग भने ।


चन्द्रागिरी महिला सामुदायीक वन उपभोक्ता समुहको अधिनमा रहेको वन चन्द्रागिरी हिल्सलाई केवलकार, होटल, भ्यूटावर र मन्दिर मार्फत धन्दा चलाउनकै लागि सरकारले कबुलियती बनाएर खोसेको थियो ।

सामुदायीक बनलाई कबुलियति बनमा रुपान्तरण गरी चन्द्रागिरी हिल्सलाई संगठित प्रयासमा दिइएको पाइएको छ । चन्द्रागिरी हिल्सले ५ हेक्टर जमिनमा टावर तथा अन्य ३१ हेक्टर जमिनमा भने स्टेशन, चन्द्रागिरी रिसोर्टदेखि अन्य भौतिक संरचना बनाएको छ ।


अन्य भौतिक संरचना समेत मापदण्ड विपरित मात्रै होइन आफैले तयार पारेको इआईए प्रतिवेदन विपरित निर्माण गरेपछि वन मन्त्रालयले केही दिन अघि २० लाख रुपैयाँ जरिवाना गरेको थियो ।


चन्द्रागिरीले भोग चलन गर्दै आएको उक्त वन क्षेत्र २०५० सालमै जिल्ला वन कार्यालयले श्री चन्द्रागिरी सचेत महिला सामुदायीक वन उपभोक्ता समुहलाई हस्तान्तरण गरेको हो । तर, चन्द्रागिरी हिल्सलाई दिने प्रपञ्चपछि भने सरकारले आफै फिर्ता लिएको थियो ।


चन्द्रागिरीमा शंकाष्पद लगानी !


बालुवाटार जग्गा काण्डका प्रमुख अभियुक्त हुन्– भाटभटेनी सुपरमार्केटका मालिक मिन बहादुर गुरुङ । उनले ५० करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा उनीमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनै मिन बहादुर गुरुङले समेत चन्द्रागिरी हिल्समा लगानी गरेका छन् । उनले आफ्ना छोरा कल्याण गुरुङलाई चन्द्रागिरीको निर्देशक बनाएका छन् । यद्धपी कम्पनि रजिष्टारको कार्यालयको रेकर्डमा भने मिन बहादुर गुरुङ नै सञ्चालक छन् ।

अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दामा छानबीन गरिरहँदा चन्द्रागिरीमाथिको लगानीमा समेत छानबीन गर्नुपर्ने हो । लगानीकर्ताहरु मात्रै होइन ढकाल स्वयंले समेत नेपालमा गरेको धन्दाबाट विदेशमा अकुत सम्पत्ति लुकाएका छन् ।

गत वर्ष खोज पत्रकारहरुको संस्था सिआइजेले ढकालले ट्याक्स हेभन देश भनिने ब्रिटिश बर्जिन आयरल्याण्डमा आफ्नो कम्पनि दर्ता गरेका थिए ।

सम्बन्धित खबर