विमानस्थलबाटै सुन तस्करी गर्नेलाई ५३ रोपनी सरकारी जग्गा : भाडा प्रति रोपनी साढे १२ हजार !

दियो पोस्ट  

काठमाडौं, १ चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को ५३ रोपनी जग्गा विवादित व्यापारीहरुको समुहले कौडीको भाउमा हत्याएका छन् ।

विवादीत व्यापारी तथा ३३ किलो सुन तस्करीको अभियुक्त विमल पोद्दार, उनका व्यापारिक साझेदार तथा सुन तस्करीकै आरोपी दीपक मलहोत्रा र नेपाली कांग्रेसका सांसद मोहन आचार्यको साझेदारी रहेको रसुवा केडी ज्वाइन्ट भेन्चर प्रा.लीले विमानस्थलको ५३ रोपनी जग्गा कौडीको भाउमा हत्याएका हुन् ।

उनीहरुले जालसाँझीको लामो श्रृङ्खला पार गरेर सरकारी स्वामित्वको यो जमिन कौडीको भाउमा हत्याएको पाइएको हो । यो समुहले सोही जग्गामा मापदण्ड विपरित ५ तले महल र पार्किङ समेत बनाएको छ ।

भवन बनेको स्थान काठमाडौं महानगरपालिका वडा नम्बर ९ ग १ स्थित कित्ता नम्बर १३ को २ रोपनी ८ आना ३ दाम १ पैसा र कित्ता नम्बर १४ को ५० रोपनी ३ आना २ पैसा १ दाम गरी जम्मा ५२ रोपनी १२ आना १ पैसा २ दाम क्षेत्रफल रहेको जग्गा विवादित व्यापारीहरुको समुहले ९ वर्षअघि देखि नै हत्याएका हुन् ।

उक्त जग्गा नागरिक उड्डयन प्राधिकरणले सवारी साधन विसान, बाहिर निष्कने मार्ग, आगन्तुक प्रतिक्षाकक्ष, चमेना गृह, पर्यटक मनोरन्जनका लागि पार्क, बगँैचा लगायत विमानस्थल व्यावसायसँग सम्बन्धित कामको लागि भाडामा दिएको हो ।

२०६९ कार्तिक २ गते रसुवा केडी र प्राधिकरणबीच १३ बुँदे समझदारी भएको थियो । सम्झौतामा विमानस्थल कार्यालयका तत्कालीन महाप्रबन्धक रतीशचन्द्र लाल सुमनले प्रथम पक्षको तर्फबाट हस्ताक्षेर गरेका छन् भने दोस्रो पक्ष अर्थात रसुवा केडीका तर्फबाट मोहन आचार्यले हस्ताक्षर गरेका छन् । विवादित व्यापारी मलहोत्राले भने साक्षीमा हस्ताक्षेर गरेका छन् ।

सम्झौता अनुसार यो समुह (रसुवा) केडी जेभिले विमानस्थलको करिब ५३ रोपनी जग्गा कौडीको भाउमा पायो । करिब ५३ रोपनी जग्गाको भाडा वार्षिक ७८ लाख मात्रै । अर्थात प्रतिरोपनी १२ हजार ५ सय रुपैयाँ मासिक। (हाल संशोधन गरीे यो भाडा वार्षिक १ करोड ५६ लाख पुर्याइएको छ । तर, उनले भाडा भने तिरेका छैनन्) । संशोधन गरेर मासिक २५ हजार प्रतिरोपनी प्रति महिना बनाइएको छ । यसो गर्दा वार्षिक रुपमा प्राधिकरणले प्रति रोपनी ३ लाख रुपैयाँ पाउँछ । जुन हालसम्म मलहोत्राको समुहले तिर्न आनाकानी गरिहेको छ ।

कौडीको भाउमा सरकारी जग्गामा रजाइँ गरिरहेको यो समुहले सम्झौतामै नभएको ‘विमानथस्थलको जग्गा र माटो उत्खनन् गरेर बेचेमो समेत खुलाशा भएको थियो ।

शुरुमा पेश गरेको डिजाइन अनुसार भूमिगत पार्किङ नबनाउने र दुई तले भवनको भुइँतलामा पार्किङ बनाउने उल्लेख थियो ।

प्राधिकरणकै लापरबाहीले ३७ फिट अग्लो दुई तलाको व्यावसायिक भवन बनाउने सम्झौता विपरीत ५२ फिट अग्लो, भूमिगत पार्किङ सहितको पाँचतले भवन बनाइयो । त्यतिमात्रै होइन यो भवनले महानगरपालिकाबाट समेत इजाजत लिएको छैन । भवनको भुइँतलाको दायाँ तर्फ ‘द बेकरी क्याफे’ सञ्चालित छ । सोही तर्फ एउटा अर्को गेट समेत बन्दैछ । यो गेट समेत सम्झौता विपरित निर्माण भइरहेको छ ।

यहाँ अढाई वर्षदेखि प्रभु बैंकको शाखा कार्यालय छ । तेस्रो तलामा ज्योति विकास बैंक छ । यी बैंकहरुको विमानस्थल व्यावसायसँग कुनै सम्बन्ध छैन । बाहिरका मान्छे आउने गरेका छन् । तर सम्झौतमा भने विमानस्थल व्यावसायसँग सम्बन्धित व्यावसाय भन्ने उल्लेख छ ।

चक्रपथ क्षेत्रको ग्राहक तान्न ठूलो गेट बनाइएको छ । यद्धपी सम्झौतामा भने ‘चेन लिङ्क फेन्सिङ’ (तारबार) गरी जग्गाको संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । मापदण्ड र सम्झौता विपरित बनाइएको भवनको अन्डरग्राउण्ड पार्किङलाई समेत सर्वसाधरणले रहस्यको रुपमा हेरेका छन् । ‘त्यो भवनको बनावट पार्किङ लट हेर्दा त्यहाँबाट तस्कारीको लागि सिधा बिमानस्थल को भन्सार जाँचस्थल भन्दा उतैसम्म सुरुङमार्ग बनाइएको आशंका छ,’ सामाजिक सञ्जाल प्रयोगकर्ता नै लेख्छन्,‘त्यो हो भने तस्कारीका सुन लगायत सामान भन्सार जाँचलाई ‘बाइपास’ गरेर मलहोत्राको गोदाममा आइपुग्छ । पत्यार लाग्दैन भने त्यहाँ गएर हेरियो । त्यो भवनबाट भंसार जाच गर्ने ठाउँ ५०० मिटर पनि टाढा छैन ।’


विमानस्थलबाटै ३३ किलो सुन तस्करी !


त्रिभुवन विमाथस्थल मार्फत भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका प्रमुख अभियुक्त हुन विमल पोद्दार । गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठित उच्च स्तरिय समितिले पोद्दारलाई पक्राउ गरेको थियो । पक्राउ पछि पोद्दारले बयानका क्रममा मलहोत्राको नाम समेत पोलेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विदेश भ्रमणमा गइरहने मलहोत्रालाई पक्राउ गर्ने हिम्मत कसको ?


पोद्दारले बयानमा भनेका थिए–‘‘दीपक मल्होत्राले मसंग मेरो ब्यापारिक साझेदारी हुनुभन्दा पहिला निजले सुनको आयात पनि गर्ने गर्दथे । निजले कानूनले तोकेको प्रक्रियाबाट सुन आयात गर्दा संगसंगै अवैध सुन आयात गरी कारोबार गर्छन् भन्ने सुनेको थिएँ ।’


तर, प्रहरीले ठूला माछालाई पक्राउ गर्न सकेन । उच्च राजनीतिक घरानासँग उठबस गरिरहने मलहोत्रामाथि अनुसन्धान समेत गर्न नसकेपछि छानबीनका गठित उच्च स्तरिय छानबीन समितिनै निकम्मा बनेको थियो ।

यो पनि पढ्नुहोस्

त्रिभुवन विमानस्थलको ५३ रोपनी जग्गा ‘३३ किलो सुन तस्कर’को कब्जामा, ठड्याए ५ तले महल !