तस्करमाथि राजश्वको ‘अपरेशन’ : कलवार पक्राउपरेपछि न्युरोड क्षेत्रमा तस्करहरुको भागाभाग !

diyopost.com
दियो पोस्ट  बुधबार, चैत्र ०९, २०७८ | १९:०८:४४

काठमाडौं । नेपाल भारतको विभिन्न नाका हुँदै काठमाडौं भित्रने विभिन्न अवैध सामाग्रीमाथि राजश्व अनुसन्धान विभाग आक्रमक बनेको छ ।

पछिल्लो समय विभागको सक्रियताकै कारण तस्करहरुको भागाभाग भएको छ । विशेषगरी विभिन्न नाका हुँदै भंसार छली गरेर न्युरोड क्षेत्रमा तस्करीको साम्राज्य खडा गर्नेहरु यतिबेला काठमाडौं छाडेर भाग्न थालेका छन् । उनीहरु सुनौलीको सिमा पारी पुगेर तस्करीको सेटिङ मिलाउने कोशिस गरिरहेको स्रोतको दाबी छ ।

राजश्व अनुसन्धान विभागको नेतृत्वमा आएका महानिर्देशक प्रकाश पौड्यालको सक्रियताका कारण तस्करहरुको भागभाग भएको हो ।

न्युरोड क्षेत्रमा तस्करीको किङ भनेर चिनिने मनोज कलवारलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेपछि अन्य तस्करहरुको भागदौड मच्चिएको छ । उनीहरु भारतको रक्सौलमा शरण लिन पुगेका छन् ।

न्युरोड क्षेत्रमा सबैभन्दा ठूलो तस्करको रुपमा रहेका गुड्डु गुप्ताको ६ वटाभन्दा गोदाम छ । जसले न्युरोड क्षेत्रमा ४० करोड भन्दा बढी बजारमा लगानी छ । तर, गुप्ता जहिले पनि पक्राउबाट भाग्दै आएका छन् ।

त्यस्तै न्युरोड क्षेत्रमै तस्करी गर्दैै आएका रमा शंकर कलवार पनि बेपत्ता छन् । जसले न्युरोड क्षेत्रमा १ सय करोडभन्दा बढी लगानी गरेका छन् । उनको उक्त लगानी तस्करीकै हो । न्युरोड आसपासमै उनको ४ वटाभन्दा बढी गोदाम छ । रमाशंकरले नेपाल भारतका विभिन्न सिमाबाट भंसार सेटिङ मिलाएर मदन गुप्ता मार्फत तस्करीको सामान नेपाल भित्र्याउने गरेका छन् । मदनको व्यावसायीक साझेदार रामेश्वर तिवारी हुन् । तर, तिवारी अहिले फरार छन् । धनुषा घर भएका आनन्द जलानको न्युरोड क्षेत्रमा छुट्टै साम्राज्य छ । जसले राजु थापा भनिने राजेन्द्र थापा मार्फत तस्करी गर्दै आएका छन् । उनी पनि यतिबेला नेपाल छाडेर भागेका छन् ।

भारतको ‘आधा रक्सौलको मालिक’ भनेर चिनिने रमाशंकर कलवार र गुड्डु गुप्ताको परिवार नै तस्करीमा समलग्न छन् । तस्करहरुले यतिबेला ट्रान्सपोर्टको नाममा तस्करी गर्दै आएका छन् । यी तस्करहरुले ट्रकमा फल्स बटम बनाएर तस्करी गर्दै आएका छन् ।

तस्करीको गोदाम क्षेत्र !

काठमाडौंका विभिन्न क्षेत्र मात्रै होइन भक्तपुरको केही भागमा समेत तस्करहरुले गोदाम बनाएर राख्न थालेका छन् । काठमाडौंको सानेपा, बनस्थली, कलंकी, स्वयम्भु, बालाजु र भक्तपुरको पेप्सिकोला क्षेत्रमा तस्करीको सामान राख्ने गोदाम तयार पारेका छन् ।

राजश्व अनुसन्धान विभागले विरगन्ज नाकामा टाइट गर्न थालेपछि तस्करहरुले विरगन्जकै अन्य नाका, भैरहवा, कृष्णनगर कपिलवस्तु, नेपालगन्ज, महेशपुर ठुटिबारी भंसार कार्यालय नवलपरासीबाट सबैभन्दा धेरै तस्करी हुँदै आएको छ । विरगन्ज क्षेत्रमा समस्या भएपछि तस्करहरुको नाइके राजु थापा भनिने राजेन्द्र थापाले भैरहवा नाकाबाट तस्करी गर्दै आएका छन् । उनलाई नवराज उपाध्यायले सहयोगी भूमिका निभाएका छन् । उपाध्याय केही दिनअघि पक्राउ परेर छुटेका पात्र हुन् । तस्करीमा पक्राउ परेका राजन प्रसाद तिमिल्सिना भर्खरै छुटेका हुन् । भंसार छलिको अभियोगमा मुद्दा खेपेर निस्किएका राजु थापाले बालुवाटार क्षेत्रमा समेत गोदाम बनाएका छन् ।

तस्करहरुले कपडा, मेडिकल सामग्री लगायत विभिन्न सामग्री तस्करी गर्दै आएका छन् । हाल न्युरोड क्षेत्रमा कस्मेटिक सामग्री समेत व्यापक तस्करी हुँदै आएका छन् ।

सम्बन्धित खबर