नक्कली परीक्षार्थी राखेर एसईई दिएको आरोपमा मेयरविरुद्ध पक्राउ पुर्जी जारी

दियो पोस्ट  

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी आइतबार पक्राउ गरेपछि शुक्रबार जिल्ला अदालतले मेयर कानुवरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो ।

कानुको सट्टामा एसईई दिंदै गरेको आरोपमा गरुडा नगरपालिका–६ पोठियाहीका कमल साह पक्राउ परेका थिए ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फका परीक्षार्थी मेयरले आफ्नो सट्टामा कमललाई परीक्षा दिन लगाएको खुलेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन् । साहले प्रहरी अनुसन्धानका क्रममा मेयर प्रेमलाल साहले नै आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।