कृष्ण गिरी
काठमाडौं, २५ चैत्र । दुई दिनको निरन्तर फोन सम्पर्क पछि म उनलाई पछ्याउँदै बानेश्वर स्थित शंखमुल ओरालो झरेँ । उनले भनेको लोकेशन पुगेपछि उनलाई फोन गरेँ । उनी लिन आए ।
आवरण ढाक्न केमिकल रंगका टाटाहरुले छोपिएका झूत्रे कपडा । त्यस्तै हातमा ठेलाहरु ।
सेतो रंग लगाउँदे गरेको एउटा घरमा हाम्रो भेट भो ।
उनको नाम ‘मेघराज कडारा’ । पेसाले उनी पेन्टर । घरहरुको रंग रोगन गर्ने मेघराजले केही दशक अघि ‘देश’को पेन्टिङ गर्ने सपना देखेका थिए । भेटको सुरुवातमै उनी विगततिर फर्किए । उनको विगत अर्थात माओवादी जनयुद्ध । १६ वर्षको उमेरमै माओवादी बने । कारण उनी असमानता, गरिबीको फोहोर हटाएर समानताको रंगले देशलाई ‘पेन्ट’ गर्न चाहान्थे ।
‘माओवादी कसरी भएँ आफैलाई रोचक लाग्छ । म त्यो समयमा ७ कक्षामा पढ्दै थिए । शनिबारमा नुवाइ धुवाई गरेर बसेका थियौ । त्यही दिन गाँउमा माओवादीको सांस्कृतिक कार्यक्रम थियो,’ उनले सम्झँदै थिए ‘त्यहि राती मेरो घरमा पनि माओवादी कलाकार बास बसेका थिए । म सानै देखि नाच्ने गााँउने गर्थे । नाच्न त सारै रहर लाग्थ्यो ।’
मेघराजलाई नाच्ने रहरको हूरीले माओवादीमा सामेल गराई दियो ।
उनलाई कलाकार बन्ने हुटहुटी चल्यो । माओवादी होइन । ‘म माओवादी किन र कसरी भएँ मलाई थाहा थिएन,’ उनले आफ्नै विगत प्रति अन्यौल पोख्दै भने्, ‘म माओवादी हुँदा सपना के हो ? पार्टी के हो ? माओवादी के हो ? केहि थाहा थिएन । तर माओवादी भइयो ।’
२०५७ साल देश तत्कालीन माओवादी र सेनाबीचको कुरुभूमी बनेको थियो । उनी जन्मेको सुदूर पश्चिमको बजुरा पनि अछूतो रहन सकेन ।
माओवादीहरुले समानताको सपना बाँढेका थिए । तर त्यो सपना देख्नेहरुमाथि राज्यले हत्कडी लगाउँथ्यो । त्यस्तो आँधीको बेला कक्षा सातको किताब एकातिर थन्क्याएर मेघराज बन्दूक समाउन पुगे । पढाएर ठूलो मान्छे बनाउने सपना देखेका उनका बाबु विचलित बने ।
‘म घरको सबैभन्दा कान्छो छोरा थिएँ । म माओवादी भएपछि बुवा एक महिनासम्म मलाई फर्काउन पछि लाग्नु भयो । तर सक्नु भएन थाकेर छोड्नु भयो,’ आफ्नो बाबु सम्झँदै भन्छन्, ‘बुवा तल्लो बाटो आए भन्ने सुनेमा म माथिल्लो बाटो जान्थे । लुक्थेँ । साथिहरुलाई अर्को टीममा छ भन्न लगाउथेँ ।’
डान्सर बन्ने मेघराजको रहर । समाजमा ‘ठूलो’ मान्छे बनाउने उनका बाबुको रहर । दुवै रहरहरु एकअर्काका विरोधी । त्यसैले बाटो छुट्टियो । बाबुको सपना तुहियो ।
२०६२/६३ आन्दोलनपछि माओवादीका नेताहरु मन्त्री बने । समय फेरियो । नेताहरुको जीवनशैली फेरियो । चप्पलमा हिँड्ने नेताहरु प्राडो र पजेरोमा देखिन थाले । कलाकारहरु ‘युज एण्ड थ्रो’ भए । कुनै बेला आशाको किरण बनेका नेताहरु बाटोमा भेट्दा नचिने जस्तो गर्न थाले । समाजवाददेखि साम्यवादसम्म पुग्ने मेघराज सपनाको आकाशमा बादल मडारिन थाल्यो । हिजो मेघराज र उनको बाबुको रहर बाँडिए जस्तै ।
उनी आफू हिँडेको बाटो प्रति गर्व गर्छन् । ‘मेरो सन्तान दर सन्तानकोलागि इतिहास हो । म हिडेकोबाटो,’ आफूले कोरेको विगतप्रति गर्व गर्दै मेघराजले भने्, ‘कलाकारको टोलि सक्रिय थियो । म कलाकारमा जोडिएको तीन महिनामा माओवादी पार्टीको सदस्यता पाएँ ।’
सुदुरपश्चिमका सबै जिल्लामा मेघराज नाँच्दै हिँडे । ‘मेरो सांस्कृतिक यात्रा बाजुरा हुँदै कालिकोट र पछि पुन सुदुरपश्चिमका सबै जिल्लाहरुमा पुग्यो,’ कालिकोटा डाँडाहरुमा क्रान्तिकारी गितमा कम्मर मर्काएको सम्झिँदै उनी भावुक बने, ‘कयौँलाई रुवाइयो होला । कयाँैलाई आफ्नै जीवन हाम्रो कलामा देखायौं होला ।’
२०६२/६३ आन्दोलनपछि माओवादीका नेताहरु मन्त्री बने । समय फेरियो । नेताहरुको जीवनशैली फेरियो । चप्पलमा हिँड्ने नेताहरु प्राडो र पजेरोमा देखिन थाले । कलाकारहरु ‘युज एण्ड थ्रो’ भए । कुनै बेला आशाको किरण बनेका नेताहरु बाटोमा भेट्दा नचिने जस्तो गर्न थाले । समाजवाददेखि साम्यवादसम्म पुग्ने मेघराज सपनाको आकाशमा बादल मडारिन थाल्यो । हिजो मेघराज र उनको बाबुको रहर बाँडिए जस्तै ।
नेता र कार्यकर्ताको सम्बन्ध तार टुटेको सारङ्गी जस्तै हुन थाल्यो । कलाकारहरुको भोक नेता मन्त्री सांसदहरुले मेटाउन सकेनन् । तार टुटेका सारंगीले कसरी मिठो धून दिन सक्छर ? ठीक कलाकारहरुको जीवन त्यस्तै भए ।
माओवादी भित्र कलह भयो । त्यो कलह पार्टी विभाजनको तह सम्म पुग्यो । कलाकारहरु पनि विभाजित बने । विचलीत बने । हिजोसँगै हिडेका साथि विरानो बन्न थाले । कोही रातारात क्रान्तिकारी बने कोही गैरक्रान्तिकारी । मेघराज बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको फेरो समात्न पुगे ।
मेघराज जस्तै धेरै माओवादी कार्यकर्ता पार्टी विभाजनको शिकार बने । उनका धेरै सपाठीहरु खाडीमा पैसासँग पसिना साटीरहेका छन् । मेघराजको जीवनमा भने विदेश जाने सपना पलाएन । यद्धपी एउटी छोरी र श्रीमतिको जीवन उनको काँधमा थियो ।
देश परिवर्तन गर्न हिँडेका मेघराज आफै विचलित जस्तो बने । भोको पेटले क्रान्ति असंभव थियो । त्यसैले उनी पेन्टिङ सिक्न थाले । माओवादीका गितमा नाच्न खप्पिस उनलाई पेन्टिङ सिक्न भने झण्डै एक वर्ष लाग्यो । यद्धपी माओवादी हुन भने समय लागेको थिएन । असली पेन्टर हुन एक वर्ष लाग्यो ।
मेघराजालाई विगतका सपनाहरु यतिबेला निकै गह्रौं जस्तो लाग्छ । र ती गह्रौ सपनाहरु बसाईं सरे जस्तो लाग्छ । ‘हामीलाई पार्टीले जुन सपना देखाएको थियो त्यो आंशिक पुरा भएको छ,’ मेघराज भन्छन् ‘ देशमा संघीयता, निरपेक्षता गणतन्त्र आएको छ, अब माओवादी एकता भए मेरो मन हलुका हुन्थ्यो ।’
उनी यतिबेला असली पेन्टर बनेका छन् । देशलाई रंगिन बनाउने सपना देखेका मेघराज काठमाडौंका घरहरु रंग्याउँदै हिँड्छन् ।
‘मान्छेलाई बाध्यताले धेरै सिकाउँछ । बाच्नु पर्छ । यसको लागि केहि न केहि त गनै प¥यो । त्यहि भएर म पेन्टरको काम गदै छु,’ मेघराज भन्छन्, ‘पाए ठेक्का लिन्छु । नपाए अरु साथिहरुसंगल मिलेर काम गर्छु । जिन्दगी चलाई रहेको छु । कमाइ त के हुन्छ । एक छोरी ,श्रीमति र आफुनो जिवन धानीरहेको छु ।’
मेघराजालाई विगतका सपनाहरु यतिबेला निकै गह्रौं जस्तो लाग्छ । र ती गह्रौ सपनाहरु बसाईं सरे जस्तो लाग्छ । ‘हामीलाई पार्टीले जुन सपना देखाएको थियो त्यो आंशिक पुरा भएको छ,’ मेघराज भन्छन् ‘ देशमा संघीयता, निरपेक्षता गणतन्त्र आएको छ, अब माओवादी एकता भए मेरो मन हलुका हुन्थ्यो ।’