यही शनिवार १९७४ एडिको अन्तिम कन्सर्ट “रक यात्रा २” हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपालको प्रसिद्ध र प्रतिष्ठित रक ब्यान्ड, १९७४ एडि , ले आफ्नो अन्तिम कन्सर्ट “रक यात्रा २” को आयोजना गर्दैछ । तीन दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा उत्कृष्ट योगदान पुर्याइरहेको यस ब्यान्डले चैत २३, २०८१, शनिबार, हैयात ग्राउण्ड, बौद्धमा हजारौ दर्शक तथा कलाकारहरु माझ आफ्नो अन्तिम यात्राको अन्तिम प्रस्तुति दिँदैछ ।

नेपाली संगीतप्रेमीहरूको लागि यो कन्सर्ट एक ऐतिहासिक र अविस्मरणीय अनुभव हुने निश्चित छ जहाँ परेलीमा, चौबन्दी चोली, र यो मन त मेरो नेपाली हो जस्ता ब्यान्डका चर्चित गीतहरु लाइभ प्रस्तुत गरिनेछ। ब्यान्डले सन् २००२ मा काठमाडौंमा गरेको कन्सर्ट रक यात्रामा करिब ६०,००० दर्शकको उपस्थिति थियो भने सो कन्सर्ट अहिलेसम्म नेपालको इतिहासकै सबैभन्दा ठूलो कन्सर्ट मानिन्छ । लगभग २३ वर्ष पछि हुन लागेको “रक यात्रा २” मा पनि दर्शकहरुको उति नै उपस्थिति र उत्साहको अनुमान गरिएको छ ।

१९९० मा गठन ब्यान्ड स्थापनाकालदेखि तीन दशकसम्म आइपुग्दा सदाबहार गीतहरुको माध्यमबाट नेपालका विभिन्न पिढ़ीका संगीतप्रेमीहरूको मन जित्न सफल छ । नेपाली गीत संगीतलाई नयाँ आयाम दिन प्रभावकारी भूमिका खेलेको नेपालको अग्रज ब्यान्ड १९७४ एडिको नेपालमा अन्तिम कन्सर्ट भएकाले पनि यस कन्सर्ट नेपाली संगीतप्रेमीहरूका लागि विशेष र अविष्मरणीयका साथै भावनात्मक पनि हुनेछ ।

अब दुई दिनमात्र बाँकी रहेको यो कन्सर्टमा हजारौ दर्शकहरुसँगै थुप्रै कलाकार तथा हस्तीहरुको पनि उपस्थिति अनुमान गरिएको छ भने यस कार्यक्रमको टिकट इसेवामा उपलब्ध रहेको छ ।

सम्बन्धित खबर