अस्पतालमा भिडियो एक्सरे बिग्रेपछि…

दियो पोस्ट  

राजविराज, ६ वैशाख । विगत डेढ वर्षदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भिडियो एक्सरे बिग्रिँदा सेवाग्राही मारमा परेका छन् ।

सप्तरी जिल्लाको एकमात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा दैनिक सयौँ बिरामी उपचारका लागि आए पनि लामो समयदेखि भिडियो एक्सरे बिग्रिँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।

ग्रामीण भेगबाट उपचारका लागि आउने बिरामीले समेत अस्पतालमा बिग्रेर थन्किएको भिडियो एक्सरेबाट लाभ लिन नसकेर महँगो मूल्य तिरेर निजी क्लिनिकमा उपचार गराउन बाध्य रहेको अस्पतालमा उपचार गराउन आएका सप्तरीको हनुमाननगर योगीनिमाई नगरपालिका–२ का श्यामसुन्दर खड्काले गुनासो गरे  ।
सदरमुकाम राजविराजमा निजी क्लिनिकमध्ये दुई वटा भिडियो एक्सरेको क्लिनिक रहेको बताइएको छ । सो क्लिनिकमा बिहानदेखि बेलुकासम्म भिडियो एक्सरे गराउनेको भीड लागे पनि समयमा उपचार पाउन नसकेको अर्का बिरामी कौशलकिशोर साहले बताए  ।

लामो समयदेखि अञ्चल अस्पतालमा भिडियो एक्सरे बिग्रेकाले निजी क्लिनिकमा रु ६०० देखि ८०० सय सम्म तिरेर सेवा लिन बाध्य रहेको अस्पतालमा उपचार गराउन आएका एक जना कुरुवाले बताएका छन् ।

यता अस्पतालमा भिडियो एक्सरे बिग्रेको विषयमा केन्द्रलाई जानकारी गराए पनि हालसम्म बन्न नसकेकाले यहाँ समस्या आएको अस्पताल प्रशासनले बताएको छ ।

पकरीमा आगलागी रु दुई लाखको क्षति

सप्तरीको पकरी गाविस–४ मा आइतबार आगलागी हँुदा रु दुई लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय दिलाइ रामको घरमा विद्युत् सर्ट भई आगलागी हँुदा निजको दुई र नाम नखुलेका एक जना छिमेकीको एउटा घर गरी तीन वटा घर जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, अन्नपात र नगद जिन्सी गरी रु दुई लाखको क्षति भएको पीडितले बताएका छन् । आगोलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।

TATA ADD