डोल्पा, वैशाख १६ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
प्रहरीका अनुसार नौ महिनाअघि नेपालगन्ज कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना परिसरभित्रको कित्ता नम्बर २१० को ५ कट्ठा १३ धुर जग्गा भूमाफिया खैरुल हसन अन्सारीले सरकारी कागज किर्ते गरी आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी स्रेस्ता कायम गराएका थिए। यस्तै नेपालगन्ज–३ स्थित वागेश्वरी मन्दिरनजिकको कित्ता नम्बर १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी अर्का भूमाफिया जुनेद अन्सारीकी सासू लाली मल्लको नाममा ८ महिनाअघि जग्गाधनी स्रेस्ता कायम गराइएको थियो। जुनेदको जग्गासम्बन्धी विवादमै यसअघि हत्या भइसकेको छ। यसैगरी बर्दियाको साविक नेउलापुर गाविस ७ को ६ बिघा ३ कट्ठा १४ धुर सरकारी जग्गा पनि खैरुलले आफ्ना बाबुको नाममा दर्ता स्रेस्ता कायम गराई गत पुस १२ गते आमा हसरतुनको नाममा नामसारी गराए। स्थानीयका अनुसार चार लेन सडकले छोएको सिक्टा सिँचाइ आयोजनाको उक्त जग्गाको चलनचल्तीको मूल्य प्रतिकट्ठा करिब डेढ करोड रहेको छ। यस्तै नेपालगन्ज–३ मा रहेको सरकारी जग्गाको मूल्य प्रतिकट्ठा ५० लाखभन्दा माथि छ। नेउलापुरको जग्गाको चलनचल्तीको मूल्य प्रतिकट्ठा करिब १० लाख छ।
बाँके र बर्दियाका विभिन्न ठाउँका सरकारी जग्गा किर्ते कागजात तयार पारी व्यक्तिका नाममा नामसारी गराउन संलग्न भएको अभियोगमा भूमाफिया, सरकारी कर्मचारी, लेखनदास गरी १८ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
यस प्रकरणमा करिब एक महिनाजति अनुसन्धान गरेपछि बाँके प्रहरीले अदालतमा मुद्दा दर्ता गराएपछि हालै थुनछेक आदेश भएको हो। अदालतको आदेशबाट मालपोत कार्यालय बाँकेका तत्कालीन अधिकृत पुष्पा श्रेष्ठ, नायब सुब्बाहरु टंकप्रसाद शर्मा, रामबहादुर खड्का, मानबहादुर केसी र रुद्रबहादुर देवकोटा, कम्प्युटर अपरेटर (खरिदार) यज्ञश्वर वली, खरिदार सुशील रिजाल, सञ्जय ठाकुर, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द र कार्यालय सहायक अन्तराम चौधरी पुर्पक्षका लागि थुनामा गएका छन्। यस्तै मालपोत कार्यालय बर्दियाका मालपोत अधिकृत रामकुमार रोका, नासु कृष्णलाल शर्मा, खरिदार भुमिराज पोख्रेल, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल, नेपालगन्ज–३ निवासी भूमाफिया खैरुल हसन अन्सारी, नेपालगन्ज १७ का सज्जन सैयाद, लेखनदासद्वय नेपालगन्ज–९ का बृहस्पति खड्का र गुलरिया–७ बर्दिया निवासी पप्पु धोबी पनि पुर्पक्षका लागि थुनामा गएका छन्। मालपोत कर्मचारी र लेखनदासविरुद्ध सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा चलेको छ भने भूमाफिया खैरुलविरुद्ध सरकारी कागजात किर्ते तथा कर्तव्य ज्यान र अपहरण मुद्दा लगाइएको बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए। अदालत स्रोतका अनुसार मालपोत कार्यालय बर्दियाकी खरिदार तुल्सारानी थारु भने एक लाख धरौटी बुझाएर छुटिसकेको उनले बताए।
मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख दीर्घबहादुर पोखरेल, मालपोत अधिकृतद्वय हेमराज शर्मा र अशोककुमार भट्टराई, खरिदारद्वय कुलानन्द राउत र रवीन्द्र थापा, मालपोत कार्यालय बर्दियाका प्रमुख कृष्णप्रसाद ज्ञवाली, खरिदार किशोरकुमार रिजाल र कार्यालय सहायक सूर्यप्रसाद उपाध्याय फरार छन्। यस्तै सोही प्रकरणसँग जोडिएको कर्तव्य जान र अपहरण मुद्दाका आरोपी डुडुवा–४ बाँकेका बच्छराज लोनिया, नेपालगन्ज–७ का सब्बिर अलि सिद्धिकी, नेपालगन्ज–२१ का अकबर अली खाँ र भारत बाबागन्जका अवधेश ठाकुर फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा इन्चार्ज दीपक मल्लले जानकारी दिए। फरार प्रतिवादीको खोजी भइरहेको उनले बताए। नेपालगन्ज–३ निवासी खैरुल र भारत बहराइच मोतीपुर घर भई नेपालगन्ज–१६ मा बस्दै आएका जुनेद अन्सारी जग्गा कारोबारी थिए। उनीहरु दुवै जनाले केही वर्षदेखि साझेदारीमा जग्गा कारोबार गर्दै आएका थिए। दुवैले बाँके र बर्दियाका मालपोत कर्मचारी तथा लेखनदाससँग मिलेर सरकारी जग्गा किर्ते कागजात तयार गरी नक्कली स्रेस्ता राख्न र नामसारी गराउन सफल भए। जग्गाको सबै कागजात जुनेदले राखे। कागजात पटकपटक माग्दा पनि नदिएपछि खैरुलले जुनेदको हत्या गर्ने योजना बनाए।
जग्गा किनबेचको बहानामा २०७५ माघ २१ गते खैरुलले फोन गरी नेपालगन्जको चारबाहिनी चोकमा जुनेदलाई बोलाए। खैरुलले नेपाल र भारतका केही व्यक्तिको सहयोगमा जुनेदलाई ललाई फकाई भारतको बाबागन्ज पु¥याए। जुनेदको त्यहीं हत्या गरियो। हत्या गरी लास जलाउँदै गरेको थाहा पाएपछि भारतीय प्रहरी पुगेर अनुसन्धान सुरु ग¥यो।
मृतककी पत्नीले दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेले सुरुमा खैरुललाई पक्राउ गरी अनुुसन्धान सुरु ग¥यो। अनुसन्धानका क्रममा प्रहरीले मृतक जुनेदको घरबाट सरकारी किर्ते कागजात बरामद ग¥यो। सूक्ष्म रुपले अनुसन्धान गर्दै जाँदा मालपोत कर्मचारी र लेखनदाससँग मिलेर खैरुल र जुनेदले किर्ते कागजात तयारी गरी सरकारी जग्गा नामसारी गरेको रहस्य पत्ता लागेको प्रहरी प्रमुख पौडेलले बताए। नागरिक दैनिकबाट