
धादिङ, चैत २१ । कोरोना भाइरस नियन्त्रणका लागि धादिङमा अस्थायी एकिकृत आइसोलेशन कक्षको निर्माण सम्पन्न भएको छ । जिल्लामा कोरोना आशंका गरिएका र कोरोना संक्रमितहरुलाई उपचार गर्नका लागि कृषी ज्ञान केन्द्रको नयाँ भवनमा ९ वेडको आइसोलेशन कक्ष निर्माण सम्पन्न भएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम बिकले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समति धादिङ, जिल्ला प्रशासन कार्यलय धादिङ, नीलकण्ठ नगरपालिका, धादिङ अस्पताल, स्वास्थ्य कार्यलय धादिङ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङ, संयुक्त एम्बुलेन्स चालक समिति धादिङ्ग, आयुर्वेद अस्पताल धादिङ्ग र सुरक्षा निकायको विशेष पहलमा कोरोनाको उपचारका लागि आइसोलेशन कक्ष निर्माण गरिएको हो ।

नवनिर्मित आइसोलेशन कक्ष बिहीबारदेखि नै संचालनमा आएको छ । धादिङ्ग जिल्ला अस्पतालका सुचना अधिकारी बिक्रम बिकका अनुसार कोरोना संक्रमितको उपचारका लागि आवश्यक सामाग्रीहरुको समेत व्यवस्थापन भइसकेको छ । संक्रमितको उपचारका लागि चिकित्सकहरुलाई पनि तयारी अवस्थामा राखिएको छ ।

हाल ९ वटा मात्रै वेड राखिएको भएतापनी आगामी दिनमा आवश्यकता अनुसार वेड संख्या बढाइने बताइएको छ । धादिङका एक जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ । जिल्लाको नेत्रावती डबजोङ्ग गाउँपालिकाका वडा नम्बर २ सेमजोङ घर भएका उर बहादुर तामाङ रहेका छन् । उनको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।