मेडिकल सामग्री खरिद प्रकरण : आधा अर्ब घोटाला योजनाका पर्दा पछाडीका खेलाडी को–को थिए ?

दियो पोस्ट  

काठमाडौं, २३ चैत्र । नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको परीक्षण गर्ने ¥यापिड टेस्ट किटसहितका सामग्री खरिद प्रकरणले नेपालको राजनीतिमा तरंग ल्याएको छ । चौतर्फी विरोध र आन्तरिक किचोलोकै बीच विवादित ठेक्का स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य विभागले रद्द गरिसकेको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीकै ‘शर्मा बन्धु’को गठजोडका कारण सरकार ईतिहासकै सबैभन्दा विवादित मात्रै बनेन कम्युनिस्ट पार्टीकै भविष्य दाउमा परेको छ ।


सप्लाईको जिम्मा लिने ओम्नी बिजनेश कर्पोरेट ईन्टरनेश्नल ‘ओबिसिआई’ले सरकारलाई नै ठग्ने प्रपञ्च गरेपछि भने सरकारले ठेक्का रद्द गरेको छ । २० प्रतिशत महँगोमा कुल एक अर्ब २४ करोड रुपैयाँको मेडिकल सामग्री खरिदमा आधा अर्बभन्दा बढी रकम घोटाला गर्ने उनीहरुको तयारी थियो । आखिर को–को थिए संकटको बेला मुलुक र जनताको करमा अर्बौं घोटाला गर्ने पर्दापछाडीका खेलाडी ?

रबिन श्रेष्ठ


शुक्रबार प्रकाशित आर्थिक दैनिकमा एक व्यक्तिको तस्विर छ । पहेँलो सर्टमा कालो चस्मा लगाएका ती व्यक्ति हुन् रबिन श्रेष्ठ । कुनै समय मल्टिनेश्नल विज्ञापन एजेन्सी चलाउने श्रेष्ठ यतिबेला अर्बौंको घोटाला गर्ने योजनाकार कम्पनि ओम्नीका प्रवक्ता हुन् । उनको थोरै शेयर समेत ओम्नीमा छ । यीनै श्रेष्ठबाट आधा अर्बको घोटाला सम्बन्धको डोरी बाँटिएको छ ।


यतिबेला दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकार छ । तर, यो सरकारलाई नै आफ्नो ठगीको जालमा फसाउने श्रेष्ठ भने कम्युनिष्ट पृष्ठभूमिका होइनन् । उनी मण्डले पृष्ठभूमिका व्यक्ति हुन् । उनका बुबा लीलाराम श्रेष्ठ नुवाकोटको त्रिशूलीगंगामाई गाउँ पञ्चायतमा गाउँ फर्कको समयका प्रधानपञ्च हुन् । तर, उनको पहुँच भने बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल र स्वास्थ्य मन्त्री भानुभक्त ढकालसम्म सहजै छ ।


चार जना सेयर होल्डर रहेको उक्त ओम्नी नामको कम्पनीमा रविनको सेयर १५ प्रतिशतको हाराहारीमा छ ।


उनै श्रेष्ठले आफ्नी बहिनी बबिता श्रेष्ठ झापाका युवराज शर्मासँग विवाहा गरिदिएका थिए । रबीनका ज्वाइँ शर्माको परिवार र प्रधानमन्त्री केपी शर्मा ओलीको विगत लामो समयदेखि राजनीतिक सम्बन्ध छ ।


राजधानीको बानेश्वरमा रहेको ह्वाइट हाउस कलेज देखि बानेश्वरमै रहेको अल्फा बिटा कम्प्लेक्सका मालिक रहेका शर्माका दाजुभाईको ग्राण्ड डिजाइनमा दुई तिहाइको सरकार फसेको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

ओली खेमासँग युवराज शर्माको साँठगाँठ ज्वाइँ जेठानको सम्बन्धका विषयमा कान्तिपुर दैनिकले लामो रिपोर्ट नै सार्वजनिक गरेको छ ।

भारतीय युवतीसँग विवाह गरेका अर्घाखाँचीका तुलहरिसिंह भुसालले ओम्नीमा कहिले अध्यक्ष त कहिले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा काम गर्दै आए । नेपाल, सिंगापुर तथा भारतमा व्यापार गर्ने सिंह ललितपुरको सानेपामा बस्छन् । उनका छिमेकी शर्माका भाइ द्विराज शर्मा छिमेकी हुन् । ‘भाइमार्फत दाइसँग सम्बन्ध भयो, दाइमार्फत सत्तासँग,’ कान्तिपुरले लेखेको छ ।


युवराज शर्माका भाई द्वीराज शर्मा सिवाकोटीले अल्फा बिटा एजुकेशन कन्सल्टेन्सी सम्हाल्छन् । उनै शर्माले सेटिङका आधारमा आइडिपी एजुकेशनलाई नेपाल भित्र्याएको आरोप छ । सिटौला थरका व्यक्तिलाई अघि सारेर उनले सर्वोच्च अदालतको स्टे अर्डरको आधारमा आइडिपी मार्फत नेपालमा शैक्षिक परामर्शको धन्दा चलाउँदै आएको यसअघि नै सार्वजनिक भइसकेको छ । त्यति मात्रै होइन उनको कन्सल्टेन्सीबाट अष्ट्रेलिया पुगेका विद्यार्थीहरु विचल्लीमा परेको खबर समेत सार्वजनिक भएको थियो ।


प्रधानमन्त्री ओलीलाई ‘अंकल’ भन्ने द्वीराजले प्रधानमन्त्रीकै कार्यालयका एक कर्मचारीको सहयोगमा आइडीपीलाई पत्र दिलाउन प्रेसर दिएको खुलेको थियो ।

प्रधानमन्त्री ओलीको आशिर्वाद थाप्दै द्वीराज शर्मा सिवाकोटी


केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन मनाउन तेह्रथुम पुग्ने यो समुहले सामाजिक सञ्जालमा तस्विर नै पोष्ट गरेका थिए । तस्विरमा युवराज शर्मा, भिष्मराज शर्मा र रवीन श्रेष्ठ देखिएका थिए । यसले प्रधानमन्त्री केपी ओलीसँग उनीहरुको निकटताबारे थप प्रष्ट पार्छ ।
ओम्नीलाई प्रधानमन्त्रीसँग साँठगाँठ गराएर मेडिकल सामग्री खरिदमा अघि सार्ने झापालीहरुको अर्को समुह पनि छ ।


प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापाको दमकमा ६४ अर्ब लगानीमा निर्माणाधिन औद्योगिक पार्कका अध्यक्ष हुन् गोविन्द थापा । उनै थापाका दाजु भाई समेत यो घोटालाको डिजाइनमा लागेको खुलेको छ ।

उनका दाई हेम थापा समेत मेडिकल सामग्री खरिदको योजना सहित ओम्नीका सञ्चालकहरु बोकेर बालुवाटार धाउने गरेका थिए । कुनै समय आफूले सञ्चालन गरेको मदिरा कम्पनिले नक्कली स्टिकर प्रकरणमा मुछिएका थापालाई चुणामणी शर्मा राजश्व विभागका महानिर्देशक हुँदा उन्मुक्ति दिइएको थियो ।

औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापा भने घोटालाका नाइके युवराज शर्माका व्यापारिक साझेदार हुन् ।