
दियोपोस्ट संवाददाता
धादिङ, २४ चैत्र । मध्यान्नको टन्टलापुर घामको रापले पृथ्वी राजमार्ग तातेको थियो । कालो पाइन्ट, कालै ज्याकेट ।
पछाडी एउटा झोला भिरेका । त्यसमाथि अर्को झोलाको भारी खापीएको थियो । पृथ्वी राजमार्ग अन्तर्गत नागढुंगा ओरालो तर्फ एक व्यक्ति चप्पलको भरमा रफतारले हिँडिरहेका थिए । ‘दाई कहाँ पुग्ने हो ?’ हामीले सोध्यौँ ।

मलिन स्वरमा उनको उत्तर थियो,‘बर्दिया ।’
काठमाडौंबाट बर्दिया त्यो पनि पैदल हिँडेर । उनको मलिन अनुहारले केही संकेत थियो ।
हामीले उनीसँग केही प्रश्न सोध्यौँ । उनले आफ्नो व्यथा सुनाए ।
नाम सुरेन्द्र थारु । स्थायी घर बारबर्दिया नगरपालिका वडा नम्बर ३ बनियाँभर ।
केही महिनाअघि मात्रै सुरेन्द्र आफ्नो परिवार पाल्ने लालसामा बर्दियाबाट काठमाडौं शहर आएका थिए । घरमा श्रीमती सहित आफ्ना लालाबाला पाल्नु पर्ने उनको काँधमा थियो । दाईको मानसिक अवस्था ठीक थिए । खेतीपातीले गुजारा कठिन भएपछि उनी काठमाडौं आए ।

शहर आएपछि उनी ज्यालामजदूरमा काम गर्थे । बबरमहलको एउटा घरमा सिमेन्ट बालुवा बोक्ने उनको दैनिकी थियो ।
विश्वभर कोरोना भाइरसको महामारी शुरु भयो । महामारी रोकथामको लागी भन्दै नेपाल सरकारले ‘लकडाउन’ अर्थात नागरिकलाई घरबाट निष्कन प्रतिबन्ध लगायो ।
सुरेन्द्रको कुनै कोठा थिएन । जहाँ काम गर्थे त्यहीँ बस्थे । ठेकेदारलाई उनले चिन्दैन थिए । काम गर्थे दैनिक ७ सय रुपैयाँ ज्याला बुझ्थे । त्यही पैसाबाट बचाएर घरपरिवार पाल्नुपर्ने थियो । तर, लकडाउनपछि उनीहरुले पाउँदै आएको ज्याला आउन छाड्यो । आफूसँग भएको पैसाले नुन तेल र चामल किनेर खाए । त्यो पनि सकियो ।

आइतबार विहान विष्कुट र चिया खाए । एउटा झोलामा आफूले लगाएको कपडा पोको पारे । अर्को झोलामा ओड्ने कपडा अनि उनी हिँडेरै बर्दियासम्म जान निष्किए ।
‘विहान ८ बजे काठमाडौंबाट हिँडे । अहिले म थानकोटको आरोलो झर्दै छु,’ सुरेन्द्रले सुनाए ।
लकडाउनमा यसरी हिँडेर तपाईंलाई कारोनाको संक्रमण हुने डर हुन्न ?
हाम्रो प्रश्नमा सुरेन्द्रले भने, ‘हिँड्न त नमिल्ने हो । तर, बसेर भोकै मर्नु पनि त भएन । हामी जस्ता मान्छेले काठमाडौंमा कसरी बस्नु । घरमा उस्तै समस्या छ ।’
घरमा रहेका उनका दाजुले सुरेन्द्रकी श्रीमतीलाई कुटेको खबर उनको कानमा परेको छ ।
मानसिक अवस्था ठीक नभएको दाइका कारण उनकी श्रीमती घर बाहिरै बस्नु परेको छ ।
यस्तो अवस्थामा उनको मन चिलगाडी सरह उडेको छ तर, यात्रा भने पैदल ।
काठमाडौंबाट बर्दिया करिब साढे ५ सय किलोमिटर छ । हिँडेरै जाँदा करिब ७ दिन लाग्ने सुरेन्द्रले बताए । लकडाउनका कारण राजमार्गमा होटल लगायत खाद्यान्न समेत पाउन मुस्किल छ ।
यस्तो अवस्थामा उनले झोलामा एक दुई पोका विष्कुट हालेका छन् । ‘यही विष्कुटको भरमा म ७ दिन पैदल हिँड्नु छ,’ उनले भने, ‘कयौँ दिन भोकै हिँडेको छु ।
सायद यो यात्रामा पनि म भोकै हुन्छु ।’
उनलाई कुराकानी गर्नुमा भन्दापनि हिँड्नुमा हतार थियो । दुई वटा झोलाको भारी बोकेर उनी आफ्नो रफ्तारमा अघि बढे ।
