
काठमाडौँ, चैत २४ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाले लकडाउनबाट प्रभावित परिवारलाई राहत वितरणको शुरुवात गरेको छ । सोमबार नगरपालिकाका सबै वडाहरुमा निम्न आय भएका र दैनिक ज्याला मजदुरीबाट जीवन निर्वाह गर्दै आएका घरपरिवारहरुलाई राहत प्रदान गरिएको हो ।

सरकारले लकडाउन घोषणा गरेपछि त्यसबाट दैनिकी निर्वाहमा समस्या परेकाहरुलाई राहत वितरण गर्ने घोषणा गरेको थियो । सोही अनुरुप चन्द्रागिरि नगरपालिकाले त्यहाँका विपन्न र दैनिक ज्यालामजदुरी गरि परिवार पालिरहेकाहरुको पहिचान गरेको थियो । नगरपालिकाले गरेको लगत संकलन अनुसार करिब ८ हजार ८ सय परिवारलाई राहतको आवश्यकता रहेको पाइएको छ ।

केही वडाहरुमा हिजो (चैत २३ ) देखि नै राहत वितरणको काम शुरु भएको र केही वडाहरुमा आजदेखि राहत वितरणको काम शुरु भएका छन् । नगरपालिकाको १ नम्बर वडामा राहतको आवश्यकता रहेको कुल ४ सय परिवारमध्य २ सय ६२ जनालाई राहत वितरण गरिएको छ ।

अन्य वडाहरुमध्य वडा नम्बर ३ मा १३ सय ९० जनालाई राहत आवश्यकता रहेको छ । उक्त वडामा भोलीदेखि राहत वितरण गरिने बताइएको छ । वडा नम्बर ९ मा रहेका ३ सय परिवारलाई राहतको कुपन बाँडिएको र उनिहरुलाई सम्बन्धित स्थानमा गएर राहत बुझ्न आग्रह गरिएको छ ।

नगरपालिकाको अन्य वडाहरुमा भोलीदेखि राहत वितरण कार्यको थालनी हुने नगरपालिकाले जनाएको छ । साथै राहत वितरण शुरु गरिसकेको वडाहरुमा राहत पाउन बाँकी परिवारलाई भोलीदेखि नै राहत वितरण गरिने जनाइएको छ । वडा नम्बर २ मा राहत फारम भरेका ४ सय ७ जनामध्य २ सय ३३ जनाले राहत प्राप्त गरिसकेका र बाँकीलाई भोलीदेखि राहत वितरणलाई निरन्तरता दिईने वडाध्यक्ष गोपी सुर्खेतीले बताए ।
के छ राहतमा ?

नगरपालिकाका वडाहरुमा सरकारले तोकेको मापदण्ड अनुसार नै राहत वितरण भएको छ । सरकारी मापदण्ड अनुसार ३ जनासम्मको परिवारलाई १० किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन, १ किलो चिनी, २ केजी चिउरा र २ वटा हात धुने सावुन वितरण गरिएको छ ।

त्यस्तै तीन भन्दा धेरै सदस्य रहेको परिवारलाई १५ किलो चामल, १ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन, १ किलो चिनी, २ किलो चिउरा र २ वटा हात धुने साबुन वितरण गरिएको छ ।