
काठमाडौँ, चैत २५ । शंकर ग्रुपका संचालक रहेका सुलभ अग्रवालले कोरोनाको त्रासमा कालोबजारी गरेको भेटिएको छ । संसारभर कोरोना भाइरसको त्रास फैलिएको मौका छोपेर अग्रवालले ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको प्रहरीले जनाएको छ ।
उनले ३५ सयमा पाइने थर्मल गनलाई २५ हजार सम्ममा बिक्री गर्ने गरेको महानगरिय अपराध महाशाखाले जनाएको छ । मंगलबार अग्रवाललाई कालोबजारी गर्दै गर्दा महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । किर्गिस्तानका लागि अनररी कन्सुलर समेत रहेका अग्रवालले कुटनीतिक नियोगको गाडी प्रयोग गरि सामानको ओसार पसार गर्ने गरेको प्रहरीले जनाएको छ ।
मंगलबार राजधानीको नक्सालबाट कुटनीतिक नियोगको नम्बर प्लेट प्रयोग गरिएको २०८–एससीसी–१ नम्बरको गाडी सहित अग्रवाललाई पक्राउ गरिएको हो । उक्त गाडीबाट प्रहरीले ६७ थान थर्मल गनसमेत बरामद गरेको छ ।
उनलाई कालोबजारी ऐन अन्तर्गत अनुसन्धान भइरहेको र कारवाही प्रकृया अगाडी बढाइने प्रहरीले जनाएको छ ।