उपप्रधानमन्त्री इश्वर पोखरेल भन्छन्, ‘उपत्यकाबाट बाहिर जान दिइने निर्णय भएको छैन’

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत २७ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सरकारले शुक्रबार र शनिबार दुई दिन उपत्यकाबाट बाहिर जान दिने निर्णय नभएको बताएका छन् । बिहीबार सबैजसो संचारमाध्यम र सामाजिक संजालहरुमा सरकारले शुक्रबार र शनिबार दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको समाचारको खण्डन गर्दै मन्त्री पोखरेलले सरकारी स्तरबाट कुनैपनि निर्णय नभएको बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका मन्त्री पोखरलले बिहीबार बसेको वैठकले त्यस्ता कुनैपनि निर्णय नगरेको बताएका छन् । एक विज्ञप्ती जारी गर्दै मन्त्री पोखरेलले यस्ता समाचार प्रकाशन र प्रसारण गर्ने संचारमाध्यम र सामाजिक संजालप्रति ध्यानाकर्षण भएको समेत बताएका छन् ।

यस्तो छ विज्ञप्ती

‘भोली र पर्सी ( २८–२९ चैत्र , २०७६) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ ।

यस किसिमको कुनै निर्णय नभएको, कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ (लक डाउन)लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ! जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।


-ईश्वर पोखरेल
-संयोजक
‘कोभिड(१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति

सम्बन्धित खबर

सिफारिस