
काठमाडौं, २९ चैत्र । वर्तमान सरकार प्रति जनतामा तिब्र असन्तुष्टि र विरोध छ । विरोधका स्वरहरु सामाजिक सञ्जालमा स्पष्ट देख्न सकिन्छ । सरकारले गर्ने हरेक गतिविधिमाथि पारदर्शिता नभएको भन्दै जनस्तरबाट प्रश्न उठ्नु स्वभाविकै हो ।
तर, सत्तारुढ दल भित्रै सरकारको गतिविधि प्रति तिब्र प्रश्न उठ्न थालेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले नै सरकारको कार्यशैलीमाथि प्रश्न गरेका छन् । केपी ओली नेतृत्वको सरकारलाई नाँच्न नजान्ने आगन टेडो भन्ने उखानसँग तुलना गरेका छन् ।
पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्चस्थरीय कार्यदल बनाउनुपर्ने सुझाव दिएका थिए ।
सोही सुझावको विषयमा नेकपाकै एक समुहले विरोध जनाउन थालेपछि सापकोटाले सामाजिक सञ्जालबाटै अध्यक्ष प्रचण्डको सुझावको बचाउ गर्दै सरकार प्रति आलोचना गरेका हुन् ।
‘नेकपाका अध्यक्ष प्रचण्डले कोरोनाविरूद्दको लडाईमा सरकारलाई अझै सशक्त बनाउन र राष्ट्रिय एकताकासाथ लड्न स्वंयम प्रधानमन्त्रि केपी ओलीकै नेतृत्वमा सर्वदलिय संयन्त्रको कुरा स्पष्ट गर्नुभएको छ,’ उनले सामाजिक सञ्जालमै लेखेका छन्,‘यस्तो सोझो र सपार्ट कुरालाई बग्याएर नानाभाककति कुतर्क किन गरेको ? यतिधेरै कुतर्क गर्ने समय जनताको काममा लगाउ यार ! यो त अति हुन थाल्यो ।’
उनले कार्यकारी अध्यक्ष अधिकार विहिन अवस्थामा रहेको समेत बताएका छन् ।
‘अधिकारविहिन प्रचण्ड जो किनारामा बसेर सरकारको समर्थन गरिरहेका छन् तिनलाई किन गाली गलौज ? सरकारले गरेका निर्णयमा कहाँ प्रचण्डको हात छ, ति निर्णय गर्ने प्रचण्ड हुन् ? काम र निर्णयमा ढंग पुर्याए भयो ! नाच्न जान्दैन आँगन टेडो नगरौ,’ उनले लेखेका छन्,‘बनाउन मन लागे बनाउ, नबनाउन मन भए नबनाउ । दुईतिहाई मत र अधिकारको प्रयोग गरे भयो । निर्णय आफ्नै हातमा छ । किन अर्कोलाई गाली गर्दै हिडेको ?’