बाराको कलैया उपमहानगरमा राहतस्वरुप कुहिएको चामल र दाल वितरण, मेयर यादवकै संलग्नता !

दियो पोस्ट  

बारा, चैत ३० । बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरुमा राहतको रुपमा कुहिएको चामल र गुणस्तरहिन दाल वितरण गरिएको फेला परेको छ । सरकारले जारि गरेको लकडाउन प्रभावित भएका उपमहानगरका वडा नम्बर २० र २२ लगायत अन्य वडाहरुमा राहतस्वरुप बाँडिएको खाद्यान्न गुणस्तरहिन भेटिएको हो ।

राहतको नाममा गुणस्तरहिन खाद्य सामाग्री वितरण भएको भन्ने सुचनाका आधारमा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय बाराको टोली अनुगमनमा पुगेका थिए । अनुगमनको क्रममा कलैया उपमहानगरपालिका–२० बसतपुरमा गत शुक्रबार राहतस्वरुप वितरण गर्न लागिएको दाल गुणस्तरहिन पाइएको थियो । गुणस्तरहिन भेटिएपछि अनुगमन गर्न पुगेको टोलीले २५ बोरा दाल नियन्त्रणमा लिएको छ ।

राहतको रुपमा वाँडिएका खाद्यान्न उपमहानगरपालिकाका मेयर राजेश राय यादवकै स्वामित्वमा रहेको किराना स्टोरबाट खरिद गरिएको प्रहरी जनाएको छ । जिल्ला प्रशासन कार्यलय बाराको निर्देशनमा मेयर यादवको स्वामित्वमा रहेको ‘यादव कोल्ड स्टोर्समा प्रहरीले छापा मारेको थियो । त्यसक्रममा प्रहरीले ३ सय ८० बोरा कुहिएको दाल भेटिएको छ । गुणस्तरहिन खाद्यान्न भेटिएपछि प्रहरीले उक्त किराना स्टोर शिल गरेको छ ।

उपमहानगरको २२ नम्बर वडामा समेत राहतस्वरुप बाँडिएका खाद्यान्न गुणस्तरहिन पाइएको छ । वडाका ६ सय १५ परिवारमध्य ५० घरमा बाँडिएको राहतमा गुणस्तर नभएको पाइएको छ । अनुगमनको क्रममा भेटिएको गन्ध आउने चामल परिक्षणको लागि पठाइएको प्रहरीले जनाएको छ ।

उक्त चामल बिक्री गर्ने जितपुर सिमरा उपमहानगरपालिका–१७ जैतापुरस्थित प्रदिप राईस मिलमा जिल्ला प्रशासन कार्यालय बाराका प्रतिनिधि सहितको प्रहरी टोलीले अनुगमन तथा तलासी गर्दा सोही ब्राण्डको ३० केजीको दरले ३२ बोरा फेला पारी नमूना समेत लिई रोक्का तथा शिलबन्दी गरी राखिएको जानकारी दिएको छ ।

गुणस्तरहिन खाद्यान्न

कलैया उपमहानगरका उपमेयर रहिमा खातुनले आफुलाई यस विषयमा कुनै जानकारी नभएको बताएकी छन् । आफु बिरामी परेको कारण अनुगमनमा जान नसकेको बताउँदै उपमेयर खातुनले यस विषयमा उपमहानगरले छानविन गर्ने तयारी थालेको बताएकी छन् । उनका अनुसार राहतको लागि उपमहानगरले प्रत्येक वडालाई ५÷५ लाख गरि कुल १ करोड ३५ लाख रुपैयाँ राहतको लागि मात्र विनियोजन गरेको छ । उपमेयर खातुनले गुणस्तरहिन खाद्यान्न बाँड्नेलाई कारवाही गर्ने र कुहिएका खाद्यान्न बाँडिएको स्थानमा पुनः राहत वितरण गरिने बताएकी छन् ।

गुणस्तरहिन खाद्यान्न वितरणमा मेयर नै मुछिएपछि चौतर्फी आलोचना शूरु भएको छ । उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद घिमिरेले यस विषयमा अनुसन्धान गर्नका लागि छानविन समिति गठन भइसकेको र केही दिनमै यसबारेमा सत्यतथ्य बाहिर ल्याउने बताएका छन् ।

उनले गुणस्तरहिन खाद्यान्न खरिद गरिएको किराना स्टोर मेयर यादवको स्वामित्वमा नरहेको समेत बताए । मेयरसँग राजनीतिक प्रतिसोध लिनको लागि नियोजित रुपमा यस्ता क्रियाकलाप गरेको उनले बताए । यसबारेमा उपमहानगरले चाँडै सत्य सार्वजनिक गर्ने उनले बताएका छन् ।