र्‍यापिड टेष्टमा कोरोना पोजिटिभ देखिएको युवादेखि एम्बुलेन्स चालक भागाभाग ! मोटरसाइकल चलाएर आफै पुगे

दियोपोस्ट संवाददाता

दियोपोष्ट संवाददाता,


धादिङ, ३ वैशाख । र्यापिड टेष्टमा कोरोना भाइरस कोभिड २९ को संक्रमण देखिएको भनिएका युवालाई जिल्ला स्थित क्वारेन्टाइनमा पुर्याउन मुस्किल भएको छ । एम्बुलेन्स चालकहरु नै भागाभाग भएपछि आफू मोटरसाइकल मै जिल्ला सदरमुकाम धादिङवेशी पुगेको संक्रमित भनिएका दीपक सापकोटाले दियोपोष्टलाई जानकारी दिए ।


मध्यरातसम्म पनि एम्बुलेन्स खोज्दा नपाएपछि आफूले मोटरसाइकालमै जिल्ला स्थित क्वारेन्टाइनमा पुगेको विरामी दीपक सापकोटाले दियोपोष्टलाई जानकारी दिएका छन् ।
सोमबार धादिङको ज्वालामुखि गाउँपालिका २ स्थित मैदी स्वास्थ्य चौकीमा उनलाई र्यापिड टेष्ट गर्ने क्रममा कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको खबर ज्वालामुखि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुजन श्रेष्ठले फैल्याएका थिए ।


संक्रमित भनिएका युवाले आफूलाई कुनै लक्षण नदेखिएको र स्वास्थ्यकर्मीले नै खबर फैल्याएपछि आफूले थाहा पाएको बताएका थिए ।


सोमबार अबेरसम्म पनि उनलाई थप परिक्षणका लागि जिल्ला स्थित क्वारेन्टाइनमा लैजानका लागि ज्वालामुखि ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले एम्बुलेन्स खोजेका थिए । तर, एम्बुलेन्स चालकहरुले कोरोना संक्रमित भनिएका विरामीलाई उद्दार गर्न तयार भएनन् ।

ज्वालामुखि गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष श्रेष्ठका अनुसार मैदी स्थित स्वास्थ्य चौकीमै २ वटा एम्बुलेन्स छन् । भारतीय दूतावासले दिएको र स्थानियबासीकै चन्दा सहयोगबाट किनिएको अर्को एम्बुलेन्स गरी २ वटा छन् ।


‘एम्बुलेन्सका लागि मैले मैदी स्वास्थ्य चौकीको तारकेश्वर पटेललाई फोन गरेको थिएँ । उहाँले सेफ्टी छैन भन्नुभयो बाहिर खोज्नुस् भन्नु भयो । तर, बाहिरका एम्बुलेन्सले पनि यो खबर सुनेका कारण कोही तयार भएनन्,’ वडाध्यक्ष श्रेष्ठले भने,‘कतिपयको मोबाइल स्विच अफ थियो । चालकसँग पीपीइ छैन भनेरै नमानेको हो ।’


मध्यरातमा पानी परेको र पानीमै आफूहरु धादिङवेशी पुगेको श्रेष्ठले बनाए ।


‘राती पानी पर्ने र चट्यांग पर्ने भएको थियो । संक्रमित भनिएको भाइले आफै मोटरसाइकल चलायो । हामीले मोटरसाइकलबाट स्कर्टिङ गरेर राती साढे ११ बजे धादिङवेशी पुर्यायौँ,’ श्रेष्ठले भने,‘मलाई चित्त दुखेको कुरा के हो भने आज उनी त मोटरसाइकल चलाउन सक्थे र उनी आफै जान सक्षम भए । भोली बृद्ध बृद्धा र महिलामाथि यो रोगको संक्रमण पोजिटिभ देखियो भने कसरी उद्दार हुन्छ । घरमै मर्नु पर्ने अवस्था आउने त होइन ?’


संक्रमित व्यक्तिलाई धम्की ?

कोरोना भाइरस कोभिड १९ को र्यापिड टेष्टमा परिक्षणमा पोजिटिभ देखिएका विरामीलाई आफन्तले धम्की दिएको समेत पाइएको छ । ‘त तुरुन्त धादिङवेशी गइहाल । नगए राम्रो हुँदैन’ भन्दै धम्की दिएको समेत पाइएको छ ।

श्रेष्ठले स्वास्थ्य चौकीले संक्रमित भनिएको व्यक्तिको गोपनियतामा ध्यान नदिँदा सम्बन्धित ठाउँमा पुर्याउन समस्या भएको समेत बताए । सञ्चार माध्यमले समेत ख्याल नगर्दा विरामीले ज्यानै गुमाउनु पर्ने खतरा रहेको उनले बताए ।

सम्बन्धित खबर

सिफारिस