
दियोपोष्ट संवाददाता,
धादिङ, ५ वैशाख । र्यापिड टेष्टमा कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको युवालाई बोक्न अस्विकार गर्ने एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर २ स्थित मैदी स्वास्थ्य चौकीको एम्बुलेन्स चालक किशन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले दियोपोष्टलाई जानकारी दिए ।
पक्राउ परेका श्रेष्ठ सहितका एम्बुलेन्स चालकहरुले ज्वालामुखि गाउँपालिका वडा नम्बर ३ का एक युवालाई जिल्ला अस्पतालसम्म लैजान अस्विकार गरेका थिए । एम्बुलेन्स चालकले अस्पताल पुर्याउन अस्विकार गरेपछि कोभिड १९ को संक्रमित भनिएका युवा आफै मोटरसाइकल चलाएर धादिङवेशीस्थित क्वारेन्टाइनमा पुगेका थिए । उनलाई ज्वालामुखि ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले मोटरसाइकलबाटै स्कर्टिङ गरेर राती ११ बजे क्वारेन्टाइनमा पुर्याएका थिए ।
डिएसपी खड्काका अनुसार एम्बुलेन्स चालक श्रेष्ठलाई विहिबार पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई म्याद थप्ने तयारी गरिएको उनले जानकारी दिए ।
विरामी बोक्न अस्विकार गर्ने एम्बुलेन्स चालकले मैदीकै केही क्लिनिकको औषधी बोकेर आएको थाहा पाएपछि वडा नम्बर ३ का स्थानियबासीले एम्बुलेन्समाथि तोडफोड गरेका थिए ।
४२ दिन अघि उत्तर कोरियाबाट नेपाल फर्किएका ती युवालाई मैदी स्वास्थ्य चौकीमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटि) परिक्षणका क्रममा कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको खबर सञ्चार माध्यममा आएको थियो । तर, उनको बाँकी परिक्षणका लागि जिल्ला अस्पताल धादिङले हेटौंडा पठाएको छ । अन्तिम परिक्षण नआउँदै ती युवालाई कोरोना भाइरस संक्रमणको हल्ला फैलिएपछि उनलाई आफन्तले समेत तनाव दिएका छन् ।