
दियोपोष्ट संवाददाता ।
धादिङ्ग, वैशाख ६ । धादिङ्गको ज्वालामुखि गाउँपालिका–२ स्थित मैदी स्वास्थ्य चौकीमा आरडिटी परिक्षणको क्रममा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ भेटिएको छ । केही समय अघि भारतबाट फर्केका ज्वालामुखी–१ का एक व्यक्तिमा कोरोना पोजेटिभ पाइएको हो ।
शुक्रबार गरिएको आरडिटी परिक्षणको क्रममा ती व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको मैदी स्वास्थ्य चौकी स्रोतले जानकारी दिएको छ । उनलाई शुक्रबार नै एम्बुलेन्स मार्फत जिल्ला अस्पताल धादिङ्ग पुर्याइएको छ ।
जिल्ला अस्पताल धादिङ्गले पिसिआर परिक्षणको लागि उनको श्वाव काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पठाएको छ ।
मैदी स्वास्थ्य चौकीमा यसअघि ज्वालामुखि–३ अमराईका एक युवकमा पनि आरडिटी परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको थियो । पिसिआर परिक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको छ ।