‘कोरोना सर्छ’ भन्दै धादिङ अस्पतालका अध्यक्षले ८२ वर्षे गरिब बृद्धको उद्दार गर्न नमानेपछि…

‘कोरोना सर्छ’ भन्दै धादिङ अस्पतालका अध्यक्षले ८२ वर्षे गरिब बृद्धको उद्दार गर्न नमानेपछि…

काठमाडौं, ११ चैत्र । जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले आर्थिक अभावमा परेका एक बृद्धलाई काठमाडौं स्थित अस्पतालमा उपचारका लागि एम्बुलेन्स दिन अस्विकार गरेको पाइएको छ ।


व्यक्तिगत कामका लागि हेटौंडा स्थित प्रदेश मुख्यालयमा समेत एम्बुलेन्स लिएर जाने धमलाले आर्थिक अभावमा परेका एक व्यक्तिको उद्दारमा भने एम्बुलेन्स पठाउन अस्विकार गरेपछि एम्बुलेन्स चालक संघका अध्यक्ष भेषराज ठकुरीले विरामीको उद्दार गरी काठमाडौं स्थित बीर अस्पतालमा पुर्याएका छन् ।


धादिङकै निलकण्ठ नगरपालिका ६ सुनौलाबजारका ८२ वर्षिय तप बहादुर नगरकोटी खुट्टामा गम्भिर रोग देखिएपछि जिल्ला अस्पताल पुगेका थिए । उनलाई जिल्ला अस्पताल पुर्याउन समेत स्थानियबासीले सहयोग उठाएर पुर्याएका थिए । निलकण्ठ नगरपालिकाले आर्थिक सहयोगको लागि सिफारिस समेत बनाइदिएका उनलाई निशुल्क एम्बुलेन्स उपलब्ध गराएर काठमाडौं रिफर गर्न अस्पतालकै कर्मचारीले समेत सुझाएका थिए ।


तर, अध्यक्ष धमलाले कर्मचारीको मात्रै होइन विरामीको याचना समेत नसुनेको विरामीका आफन्तले दियोपोष्टलाई जानकारी दिए ।


विरामी बृद्धका पत्निको समेत यसअघि नै मृत्यु भएको स्थानियबासीले बताए । ‘विरामीको उद्दारका लागि हामीले अध्यक्ष महेन्द्र धमलालाई याचना गर्यौँ तर उहाँले मिल्दैन भन्नुभयो । त्यसपछि हाम्रा प्रदेश सभा सांसद डा. रामकुमार अधिकारीलाई पनि भन्न लगायौँ । डा. अघिकारीले भनेको पनि नमानेपछि विरामीलाई निकै समस्या भयो,’ ती आफन्तले भने,‘एम्बुलेन्स चालक संघका अध्यक्षको एम्बुलेन्समा तेल हालिदिएपछि उहाँले काठमाडौं लैजानु भएको छ ।’

रामीका आफन्तका अनुसार बीर अस्पतालमा समेत उनको उपचारमा ख्याल गरिदिने कोही छैनन् । ‘उहाँले उपचारमा एक पैसा खर्च गर्न सक्नु हुन्न । लकडाउनका कारण सहयोग पाउन पनि मुष्किल छ,’ आफन्तले भने,‘विरामीलाई बचाउन नै कठिन हुने अवस्था आयो ।’


यस विषयमा धादिङ जिल्ला अस्पतालका अध्यक्ष महेन्द्र धमलालाई सम्पर्क गर्दा एम्बुलेन्सले विरामी नबोकेको स्वीकार गरे ।

उनले जिल्ला अस्पतालका २ वटा एम्बुलेन्सले कोरोना संक्रमित विरामी बोकेका कारण ती बृद्धमा संक्रमण फैलने खतरा हुने भएकाले विरामी नबोकेको दाबी गरे ।

तर, धादिङमा हालसम्म कसैलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छैन । संक्रमण नै नभएको विरामी बोकेको एम्बुलेन्सबाट कोरोना सर्छ भन्दै धमलाले सञ्चार माध्यमलाई नै झूट बोलेका छन् ।

Trending News