
काठमाडौं, १३ वैशाख । २०६६ साल ताका महानगरीय प्रहरी बृत सोह्रखुट्टेका प्रमुख थिए – तत्कालिन इन्सपेक्टर हालै एसपीमा बढुवा भएका दयानिधि ज्ञवाली । हिमाल खबरपत्रिकाले स्रोतलाई उदृत गर्दै त्यतिबेला लेखेको थियो– ‘ज्ञवाली इन्चार्ज भएको समयमा सोह्रखुट्टेमा ल्याइएका कुनै पनि घटना र आरोपका मानिस रकम नदिई विरलै उम्के होलान् ।’
ज्ञवालीले संगठित अपराधमा समलग्न दिनेश अधिकारी ‘चरी’ नयाँ बजार क्षेत्रबाट पक्राउ गरी प्रहरी भ्यानबाटै रु. ८ लाख लिएर छाडिदिएको हिमाल खबरले छापेको थियो । त्यति मात्रै होइन महानगरीय प्रहरी परिसर ललितपुरमा प्रहरी नायब उपरिक्षक डिएसपी रहँदा २०७२ फागुनमा एउटा घुष काण्ड सार्वजनिक भयो ।
ललितपुरको एकान्तकुनामा रहेको जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन सम्बन्धी काम मिलाइदिन ज्ञवाली र अर्का एक डिएसपी र एक सइ घुस रकमसहित अख्तियारद्वारा पक्राउ परे ।

अख्तियारको टोलीले डिएसपी ज्ञवाली, प्रहरी निरीक्षक रमेश बहादुर सिंहलाई तीन लाख रुपैयाँ घुस लिँदै गर्दा पुल्चोकस्थित थाइघर रेस्टुरेन्टबाट र प्रहरी नायव निरीक्षक पाण्डेलाई १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा काठमाडौं कलंकीस्थित स्टुडेन्ट क्याफेबाट नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले ज्ञवाली र सिंहलाई सफाई दियो भने जुनियर प्रहरी कर्मचारीलाई मात्रै दोषी ठहर्यायो । तर, यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन छ ।
उनै विवादित डिएसपी ज्ञवाली सहित केही विवादाष्पद प्रहरी अधिकारीलाई गृहसचिव महेश्वर न्यौपानेको दबावमा प्रहरी उपरिक्षक एसपीमा बढुवा गरिएको खुलाशा भएको छ ।
नेपाल एयरलाइन्सको वाइडबडी खरिदकाण्डमा समेत मुछिएका गृहसचिव न्यौपानेले प्रहरीमा हस्तक्षेप गरेरै विवादित र जुनियर डिएसपीलाई एसपीमा बढुवा गरेको पाइएको छ ।
अदालतमा मुद्दा चलेका र बिबादितलाई वढुवा नगर्ने नीति बनाएको दाबी गर्ने गृहसचिव न्यौपानेले डीएसपीबाट एसपी बढुवा सिफारिस गर्दा कनिष्ट, विवादित र अदालतमा मुद्दा चलेकालाई सिफारिस गरेर आफ्नै अभिव्यक्तिको खिल्ली उडाएको पाइएको छ । यसअघि प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीलाई दज्र्यानी चिन्ह लगाइदिएपछि न्यौपानेले प्रहरी भित्रको अस्वस्थ प्रतिष्पर्धाको घुमाउरो तरिकाले आलोचना गरेका थिए ।
२४ जना डिएसपीहरूको बढुवामा गृहसचिव महेश्वर न्यौपानेले जुनियर र घुषसहित रंगेहात पक्राउ परेकाहरुलाई प्राथामिकता दिएका छन् । गृहसचिवको कारण प्रहरीमा भाँडभैलो मच्चिएको भने इमान्दार प्रहरी कर्मचारीको मनोबल गिरेको छ । न्यौपानेले प्रधानमन्त्री कार्यालयबाट आएको नाम भन्दै विवादित र भ्रष्ट डिएसपीलाई समेत एसपीमा बढुवा सिफारिस गरेका थिए । न्यौपानेको हस्तक्षेपका कारण प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवाली समेत निरिह बनेका छन् ।
राजनीतिक दलका नेताहरुको फेरो समातेर केही जुनियर डिएसपीहरु समेत एसपीमा बढुवा भएका छन् । डिएसपी राजेन्द्र धमलालाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको दबावमा बढुवा गरिएको स्रोतको दाबी छ ।
त्यस्तै विवादित डिएसपीहरु प्रवीण धिताल, वामदेव गौतम, प्रभु ढकाल पनि विवादित पात्रहरु हुन् ।
गौतमलाई दरबारमार्गमा रहँदा अख्तियारकै प्रहरीले घुषसहित पक्राउ गरेको थियो । एसपीमा बढुवा भएका विवादित डिएसपी ज्ञवालीलाई आइजीपी ठाकुर प्रसाद ज्ञवालीले आफ्नो ‘थर गोत्र’ मिलेका कारण बढुवा गरेको स्रोतको दाबी छ ।
यता डेढ बर्षअघि चितवनको डीएसपी हुँदा अत्यधिक मदिरा सेवन गरी सौराहाका होटलमा प्रहरी आचारसंहिता बिपरीत आंतक मच्चाएको आरोपमा २०७५ असोज २९ मा कारबाहीस्वरुप तानिएका प्रभु ढकाल पनि बढुवामा परेका छन् । उनका दाई भिम ढकाल हाल महानगरीय ट्राफिक प्रहरी महासाखा प्रमुख छन् । उनै ढकालको भनसुनका आधारमा प्रभुको बढुवा भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार डिएसपी बढुवामा गृहसचिव महेश्वर न्यौपानेका विवादित ‘भान्जा’ सुजन पौडेलको रहस्यमयी दौडधुप थियो । उनै भाञ्जा पौडेलले आर्थिक चाँजोपाँजो मिलाएको स्रोतको दाबी छ । गृहसचिव न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव रहँदा बालुवा तस्करीमा डिल नमिलेपछि बौद्धका डिएसपी श्याम कुमार राईलाई भाञ्जा पौडेल प्रयोग गरेर पक्राउ गरेका थिए ।
एसएसपी बढुवामा पनि भाँडभैलो : जुनियर एसपीलाई एसएसपीको उपाधी !
प्रहरी उपरिक्षक (एसपी)बाट प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवा पनि विवादित बनेको छ ।
गत वैशाख १० गते प्रहरी प्रधान कार्यालयले १९ जना एसपीलाई एसएसपीमा बढुवा गरेको थियो ।
एसपीहरु वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णु बहादुर केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेश बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञमणि पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्रकुबेर खापुङ एसएसपीमा बढुवा भएका थिए । २०७३ सालमा डिएसपीबाट एसपीमा बढुवा भएका खापुङ सबैभन्दा जुनियर एसपी मानिन्छन् । यसअघिका गृहसचिव प्रेम कुमार राईसँग निकट रहेका खापुङलाई राजनीतिक दबावमा बढुवा गरिएको स्रोतको दाबी छ ।