
दियोपोष्ट संवाददाता
धादिङ, १४ वैशाख । ईटहरीका भाइरल मेयर द्वारिकालाल चौधरीले आफ्नो विरोध गर्ने र आलोचना गर्ने पत्रकारको नाँकको डाँडी भाँच्न एक करोड छुट्याएको चर्चा चलेको धेरै भएको छैन । यता धादिङ निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले भने व्यक्तिगत तवरबाट सञ्चालित मिडिया, सहकारीद्वारा सञ्चालित मिडिया र राजनीतिक दल निकट सञ्चार माध्यमलाई मनोमानी रुपमा रकम भागबण्डा गरेको खुलेको छ ।
आम सञ्चार माध्यमलाई आफू अनुकुल प्रयोग गर्न जनप्रतिनिधिहरुले जनताबाट उठेको कर कसरी दुरुपयोग गरिरहेका रहेछन् भन्ने प्रमाण फेला परेको छ । नेपाल नगरपालिका संघका महासचिव समेत रहेका ढुङ्गाना नेपाली कांग्रेसबाट निर्वाचित निलकण्ठ नगरपालिकाका मेयर हुन् ।
उनले सञ्चार माध्यमलाई आफू अनुकुल प्रयोग गर्न जथाभावी रुपमा रकम बाँढेको पाइएको छ । ढुङगानाका विज्ञ सल्लाहाकारको रुपमा नियुक्त दीपक कोइारालाले सञ्चार माध्यमलाई के–कति रकम बाँडिएको हो भनेर फेहरिस्त नै सार्वजनिक गरेका छन् ।
उनका अनुसार धादिङमा रहेका पत्रकार तथा सञ्चार माध्यम, राजनीतिक दल निकट पत्रकार संघलाई नगरपालिकाले २ वर्षको बीचमा ३४ लाख २५ हजार रुपैयाँ बाँढेको छ ।
उनका अनुसार नगरपालिकाले नेकपा निकट व्यक्तिले सञ्चालन गरेको रेडियो धादिङलाई ४ लाख ५० हजार दिएको छ । त्यस्तै रेडियो विहानीलाई ९ लाख ५० हजार, रेडियो नीलकण्ठ तथा धादिङ सञ्चारले ९ लाख लिएको छ । त्यस्तै नेपाली कांग्रेस निकट व्यक्तिहरुले सञ्चालन गरेको रेडियो रेडियो लोकतन्त्रलाई पनि नगरपालिकाले ४ लाख बिनियोजन गरेको छ । धादिङमै रहेको दिब्यदर्शन टेलिभिजनले एक लाख रुपैयाँ पाएको छ । नेकपा निकट नवराज छत्कुली अध्यक्ष रहेको पत्रकार महासंघले २ लाख, फोटो पत्रकार संघ धादिङ २ लाख, जनजनति पत्रकार संघ धादिङ २ लाख, धादिङ आवाज दैनिक १ लाख ५० हजार लिएको कोइरालाले जनाएका छन् ।
त्यस्तै पत्रकार महासंघ धादिङका अध्यक्ष छतकुलीले नै सञ्चालन गरेको पाविल न्युज डटकमले पनि नगरपालिकाबाट १ लाख रुपैयाँ हात पारेको छ । धादिङमा सञ्चालित धादिङ पोष्टले पनि एक लाख रुपैयाँ पाएको कोइरालाले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । यद्धपी धादिङ पोष्टका सञ्चालक नारायण सिलवालले उक्त रकम धादिङ पोष्टले नभई फोटो पत्रकार संघ धादिङले लिएको बताए ।
कोइरालाका अनुसार कम्युनिष्ट निकट पत्रकारहरुले मात्रै नगरपालिकाले ३३ लाख ५० हजार रुपैयाँ बाढेको छ । यता कांग्रेस निकट पत्रकारलाई केही दिनअघि नगर प्रमुख ढुङ्गानाले पीपीइ बाँढेका थिए । तर, नगरप्रमुख ढुङ्गानाले सञ्चार माध्यमलाई पैसा बाँढे पनि केही सञ्चार माध्यमले आलोचना गरेपछि यो विवरण सार्वजनिक भएको हो ।
‘जानाजान विपक्षी पार्टीका कार्यकर्ताले चलाएको मिडिया हाउस र संस्थालाई सहयोग गर्नु नगरप्रमुखको ढुङ्गानाको गल्ती रहेछ । अनि ठूलो गल्ती मेरो पनि रहेछ संचार संस्थालाई भेदभाव गर्नुहुन्न भन्दै नगरप्रमुखलाई दबाब गर्नु,’ कोइरालाले भनेका छन्,‘आफूले लाखौ पाउँदा मीठो मुख गरेर केही हजारको सामाग्री अरू साथीको संस्थामा जाँदा उछित्तो काड्ने संचार माध्यमलाई मेरो केही भन्नुछैन । बरू तपाईहरूको औकात देखेर दुखी भएँ । जसको दुध खायो उसैलाई डसेर मार्ने बिषालु साप जस्तो प्रबृतिलाई नचिन्नु नगर प्रमुख र सल्लाहकारको गल्ती नै हो ।’
पत्रकार आचार संहिताको खुलमखुल्ला मजाक !
धादिङमा क्रियाशिल अपवाद बाहेकका केही पत्रकारले पत्रकार आचार संहिताको खुलमखुल्ला चुनौती दिएका छन् । पत्रकारले आफ्नो पेशामा रहँदा कुनैपनि संघ संस्था वा व्यक्तिबाट उपहार तथा कुनैपनि प्रलोभनमा पर्नु नहुने पत्रकार आचार संहितामा उल्लेख छ ।

पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५ को उपदफा १२ (१) मा भनिएको छ,– पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका उपहार वा विशेष सुविधा लिनुहुँदैन ।’
तर, पत्रकार महासंघ धादिङकै अध्यक्ष समलग्न भएको सञ्चार माध्यमले नगरापालिकाबाट रकम लिएको विज्ञ सल्लाहाकारबाट खुलाशा भएपछि आफूहरुलाई लज्जाबोध भएको धादिङका एक पत्रकारले बताए ।