
काठमाडौं, १५ वैशाख । राजधानी बाहिरका विभिन्न जिल्लाबाट काठमाडौं आएका सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालयले फर्काएको छ । 
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार काठमाडौंको नागढुङ्गामा आएका उनीहरुलाई जहाँबाट आएको हो सोही ठाउँमा फकाइएको छ ।

काठमाडौं बाहिर सर्वसाधरण लिएर गएका सवारी साधनले फर्कने क्रममा मनोमानी रुपमा काठमाडौंबासीलाई चढाएर ल्याएको खुलाशा भएपछि जिप्रका काठमाडौंले फर्काउने निर्देशन दिएको हो ।

‘काठमाडौं बाहिरबाट यहाँ आउने भन्ने त पोलिसि नै छैन । जो मानिसहरु आएका छन् यहाँबाट गएको सवारी साधनले ल्याएको देखियो । उनीहरुलाई धादिङको पृथ्वीराज मार्ग स्थित झ्याप्ले खोलाबाट फर्काएका हौँ,’ दाहालले दियोपोष्टसँग भने,‘कोही मानिस हिँडेर जंगल जंगल नागढुङ्गासम्म आएका पाइयो । उनीहरुलाई पनि फर्काउँदै छौँ ।’

दाहालका अनुसार ६१ जना पैदल यात्रीलाई फर्काइएको छ । उनीहरु पूर्वी जिल्लाहरुबाट काठमाडौं आएका हुन् ।
