बालुवाटारको ‘ताबेदारी’ गर्दै रेडियो नेपालबाट डा. बाबुराम भट्टराईको अन्तर्वार्ता हटाउने को ?

दियोपोस्ट संवाददाता

काठमाडौं, १५ वैशाख । सरकारी सञ्चार माध्यमले सत्ताको तावेदारी गर्नु नौलो कुरा होइन । तर, मुलुकको पूर्व प्रधानमन्त्रीकै अन्तर्वार्ता आफ्नो अनलाइन संस्करणबाट हटाएपछि सामाजिक सञ्जालमा सरकारको चर्को विरोध भएको छ । जनता समाजवादी पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग रेडियो नेपालका पत्रकार डा. नवराज लम्सालले लिएको अन्तर्वार्ता अनलाइनबाट हटाइएको छ ।


स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारबाट उनका केही सल्लाहाकारको निर्देशनमा उक्त अन्तर्वार्ता हटाइएको हो ।

दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसम्वादमा सोमबार बिहान प्रसारण भएको अन्तर्वार्तामा डा. बाबुराम भट्टराईले आफ्नो धारणा राखेका थिए ।


डा. भट्टराईले सरकारको आलोचना गरेको भन्दै हटाइएको जनाइएको छ । रेडियो नेपालबाट जारी विज्ञप्तिमा भट्टराईले अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरेको भाषा र र विचारले दुःखी बनाएको उल्लेख गरिएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीद्वारा हस्ताक्षेरित विज्ञप्तिमा लाईभ प्रशारण भएकाले सम्पादन गर्न नसकिएको र आगामि दिनमा अतिथि छनौट गर्दा गम्भिर रुपमा सचेत रहने भन्दै आगामी दिनमा भट्टराईलाई अतिथि समेत नबनाउने उल्लेख छ । रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले बालुवाटारको ताबेदारी गरेर डा. भट्टराईको अन्तर्वार्ता हटाएपछि सामाजिक सञ्जालमा सरकारको आलोचना बढ्न थालेको छ ।

सम्बन्धित खबर

सिफारिस