सांसद ‘अपहरण’ प्रकरण : जनता समाजवादीका नेता जाहेरी लिएर सरकारी वकिल कार्यालयमा !

दियो पोस्ट  

काठमाडौं, १६ वैशाख । जनता समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादव अपहरणको जाहेरी प्रहरीले लिन अस्वीकार गरेपछि नेताहरुको समुह सरकारी वकिलको कार्यालयमा पुगेका छन् ।


पूर्व उद्योगमन्त्री महेश बस्नेत, नेकपाका सांसद किसन श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका नेताहरु अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, शरद सिंह भण्डारी लगायत शिर्ष नेताहरु बबरमहल स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेका हुन् ।

जनता समाजवादीका नेता केशव झाका अनुसार उनीहरुले सरकारी वकिल मार्फत जाहेरी दर्ता गर्ने छन् । केही दिन अघि काठमाडौं प्रहरी परिसरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहितका शिर्ष नेताहरु जाहेरी दर्ता गर्न पुगेको थियो । तर, महोत्तरीमै जानुपर्ने भन्दै काठमाडौं प्रहरीले जाहेरी लिन अस्विकार गरेको थियो ।


बबरमहल स्थित सरकारी वकिलको कार्यालयमा जनता समाजवादी पार्टीका नेताहरु अशोक राई, राजेन्द्र महतो लगायत नेताहरुको भिड लागेको छ ।

सिफारिस