प्रहरी लगाएर काठमाडौं प्लाजा खाली गर्न माइकिङ, व्यापारी भन्छन्, ‘ताला लगाउ’ ? (भिडियो)

प्रहरी लगाएर काठमाडौं प्लाजा खाली गर्न माइकिङ, व्यापारी भन्छन्, ‘ताला लगाउ’ ? (भिडियो)

काठमाडौं, ३१ चैत्र । नेपाल ट्रष्टको स्वामित्व रहेको काठमाडौंको कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न भन्दै मंगलबार माइकिङ गरिएको छ ।


ट्रष्टका अधिकारीहरुले प्रहरीको सहारामा माइकिङ गरेर प्लाजा खाली गर्न भनेको हो । तत्कालिन राजा विरेन्द्र शाहको परिवारको नाममा रहेको ५ रोपनी २ दाम क्षेत्रफलको जग्गा कन्सेप्ट डेभलपर्सलाई दिने गरी २०५० असार ३ गते सम्झौता भएको थियो । पूर्वराजपरिवारको निधन भएपछि बनेको सरकारले शाहको सम्पत्ति राष्ट्रहितमा प्रयोग गर्न भन्दै नेपाल ट्रष्ट गठन गरेको थियो । देश भर रहेका राजपरिवारको सम्पत्ति ट्रष्टको मातहत ल्याउने क्रममा काठमाडौं प्लाजा पनि ट्रष्टको मातहतमा ल्याइएको थियो ।

नेपाल ट्रष्टको लापरबाहीले काठमाडौं प्लाजाका सयौँ व्यापारीको अर्बौं लगानी डुब्ने खतरा !

२०६६ पुस २३ गते ट्रष्टले कन्सेप्ट डेभलपर्ससँग पुनः लिज सम्झौता नवीकरण गर्दै २०६७ असार ३ गतेदेखि २०७२ असार ३ गतेसम्मको वार्षिक भाडा ६१ लाख र यसपछि सुम्झौता अवधि रहने समय २०७७ असार ३ गतेसम्मको वार्षिक भाडा ७५ लाख तोकिएको थियो । उक्त सम्झौता अवधि असार २ गतेबाट सकिएको थियो ।

काठमाडौं प्लाजाका व्यापारीलाई लखेटेर ओम्नीलाई भित्र्याउने ईश्वर पोखरेलको गुपचुप खेल !


मन्त्रिपरिषदले उक्त भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने निर्णय गरेको थियो । व्यापारिक भाडामा लगाउन नपाउने गरि मन्त्रिपरिषदले महानगरपालिकालाई भाडा दिने निर्णय गरेको थियो ।


सम्झौता अवधि सकिएपछि ट्रष्टले पटक पटक सुचना छापेर भवन खाली गर्न भनेको थियो । नेपाल ट्रष्ट र कन्सेप्ट डेभलपर्सबीचको भाडा सम्झौता विवादा यतिबेला सर्वोच्च अदालतमा विचाराधिन छ । यस्तो अवस्थामा भवन खाली गर्न भन्दै ट्रष्टले सुचना र प्रहरी लगाउने धम्की दिएको व्यापारीहरुको गुनासो छ । काठमाडौं प्लाजाको भवनमा ज्योति विकास बैंकको कर्पोरेट कार्यालय छ । मुक्तिनाथ विकास बैंकको मुख्य कार्यालय नै छ । त्यस्तै हुलास स्टिल, बिओके क्यापिटल लगायत ठूला घरानाको कार्यालय समेत छ ।

प्रहरी लगाएर काठमाडौं प्लाजा खाली गर्ने नेपाल ट्रष्टको धम्कीले २ बैंक र हुलास स्टिललाई तनाव !


ट्रष्टले भवन खाली गर्न भन्दै मंगलबार दिउँसो ३ बजे माइकिङ गर्दै सुचना टाँसेको छ । ट्रष्टका अधिकारी दलबलसहित कार्यालय पुगेका थिए । भाडामा बसेका व्यापारीहरुले भने आफूहरु सर्ने तयारी रहेको बताएका छन् । यता ज्योति विकास बैंकका सुचना अधिकारी रामहरि आचार्यले असार अन्तिममै आफूहरुको भाडा सम्झौता सकिएको बताए ।


आफूहरु १५/२० दिनमा नयाँ बिल्डिङमा कार्यालय सर्ने उनले बताए ।


१५ वर्षदेखि व्यापार गर्दै आएका सन्दिप कार्कीले कोरोना महामारीले थलिएका व्यापारीलाई ट्रष्टले तनाव दिएको बताए । आफूहरुसँग कुनै विकल्प नभएको उनले बताए । ‘हामी कसरी खाली गर्ने ? कोभिडले लथालिंग भएका छौँ । हामीले कसरी खाली गर्ने ? बरु ताला लगाओस्’ उनले भने ।

यस्तो छ भिडियो

Trending News