पर्यटन विभागले भन्यो,‘सगरमाथाबारे निर्मल पुर्जाले झूटो सन्देश फैल्याए’

दियोपोस्ट संवाददाता  

काठमाडौं । निम्सदाई नामले चिचिने चर्चित आरोहि निर्मल पुर्जाले सगरमाथा आरोहणबारे झुटो सन्देश फैलाएका छन् । नेपालको पर्वतीय पर्यटनलाई पुर्जाले बदनाम गराउन खोजेको भन्दै विभागले आपत्ती जनाएको छ ।

आइतबार इन्स्टाग्राममार्फत एक भिडियो पोष्ट गर्दै पुर्जाले यो वर्षको वसन्त ऋतु सगरमाथा आरोहणका क्रममा टाँगिएको डोरीको बाल्कोनी र साउथ समिटबीचको भाग काटिएले आरोहणमा समस्या भएको र शव व्यवस्थापन टोली फर्किनु परेको दाबी गरेका थिए ।

भिडियोमार्फत निम्सले अंग्रेजी भाषामा आफुले आरोहणको लागि टाँगिएको डोरी काटिएको जानकारी गराएका थिए । ‘मैले डोरी काटिएको भन्ने सुनेको छु । पर्वतीय पर्यटनमा ठूलो पोलिटिक्स भइरहेको छ’ भिडियोमार्फत उनले भनेका छन्, ‘मेरो खुट्टा तान्न विगत ३ वर्षदेखि ममाथि घिनलाग्दो राजनीति (डर्टि पोलिटिक्स) भइरहेको छ । आवश्यक भए मेरा विरुद्ध लाग्ने सबैलाई बाहिर ल्याइदिन्छु । अत्ति नै भयो ।’

 

निर्मल पुर्जाको उक्त आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सोमबार विभागले विज्ञप्ती समेत जारी गरेको छ । ‘यहि जेठ २ गते निर्मल पुर्जाले इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमार्फत सगरमाथा आरोहणबारे डोरी काटिएको र आरोहणमा समस्या भएको भन्दै भ्रामक सन्देश फैलाउनुभएको छ’ विभागद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘पुर्जाले रेडियो सेटमार्फत पिक प्रमोसन प्रालीका बाबु शेर्पासँग कुरा गर्दै पिक प्रमोसनको शव व्यवस्थापन टोली डोरी नभएकोले फर्किनुपरेको भन्ने आरोपप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको पर्वतीय पर्यटनलाई बदनाम गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ ।’ पुर्जाले फैलाएको भ्रमबारे पर्वतारोहण सञ्चालक संघ नेपालको आकस्मिक बैठकसमेत बसिसकेको छ ।

पुर्जाको उक्त आरोपपछि पायोनियर एडभेन्चरको टोलीले आइतबार बिहान सफल आरोहण गरेको र उक्त स्थानमा टाँगिएको डोरी नकाटिएकोसमेत जानकारी गराएको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस वर्षको सगरमाथा आरोहणको अभियान अन्तिम चरणमा पुगेको छ भने आरोहण मार्गमा टाँगिएको डोरीमा कतै समस्या नभएको विभागले जनाएको छ ।