काठमाडाैँ। ६ दशकदेखि चियारोपण, प्रशोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी रामकुमार राठीलाई सरकारले लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ। उद्योगी राठीलाई २९औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले अवार्ड प्रदान गरेको हो।
कृषि तथा पशुपन्छी विकासमन्त्री एवम् बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे। राठी नेपालका पहिलो टी टेस्टर ९चिया परीक्षक० हुन्। उनले टी टेस्टिङ, प्लान्टेसन एन्ड म्यानुफ्याक्चरिङमा स्नातकोत्तर गरेका छन्।
पच्चीस वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टी टेस्टिङ हेरेपछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए। चीनबाट फर्केलगत्तै राठी इलाम टी गार्डेनमा पुगे। त्यहाँ प्रबन्धकका रूपमा कार्यरत बेलायती नागरिक प्रोजरबाट चियाबारे आधारभूत ज्ञान लिए।
सन् १९६८ देखि १९७० सम्म कोलकाताको एक व्यापारिक प्रतिष्ठानमा टी टेस्टर तालिम लिएर अभ्यास गरी उनी नेपाल फर्किए। उनले १९७२ मा आरके ओभरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थाले।
त्यतिबेला उनी इलामको चिया बजारीकरण गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्यान्ड, बेलायत, फ्रान्स, स्विटजरल्यान्ड, अस्ट्रिया, इजिप्ट र इरानसम्म पुगेका थिए। यसपछि उनको निर्यात व्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो।
२०३३ सालमा पहिलो चिया उद्योगका रूपमा इलाममा हिमाल चिया उद्योग खोलेका राठीका ३ वटा चिया उद्योग छन्। उनले २०६३ मा झापाको हल्दीबारीमा सीटीसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योग र २०७२ मा इलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका थिए।
उनले ‘राकुरा’ ब्रान्डमा सीटीसी र अर्गानिक चिया उत्पादन गर्दै आएका छन्।