बुधबार छत्तीसगढको नारायणपुर जिल्लामा भारतीय सुरक्षा बलले भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नम्बाला केशवराव उर्फ ‘बसवराजु’ को हत्या गरे । भारतीय सुरक्षा बलले बसवराजुसहित २६ जना ‘नक्सल’ लडाकुहरूको हत्या गरेको बताएको छ । बसवराजुसहित नक्सल लडाकुको हत्याले भारतीय सरकार फाँसीवादी र जनबिरोधी हो भन्ने पुष्टि भएको छ ।
हत्या भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै भनेका छन्– ‘यस उल्लेखनीय सफलताका लागि हामी आफ्ना सुरक्षाबलहरू प्रति गर्व गर्छौं । हाम्रो सरकार माओवादी नामक ‘बुराइ’को अन्त्य गर्न तथा जनताका लागि शान्तिपूर्ण र प्रगतिशील जीवन सुनिश्चित गर्न प्रतिबद्ध छ ।’

तर, प्रधानमन्त्री मोदीको यो अभिव्यक्ति भारतीय जनताको विपक्षमा थियो । त्यसैले पनि मोदी सरकार ‘जनविरोधी’ र ‘फासीवादी’ सरकार हो भन्नेमा दुइमत छैन ।
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले एक विज्ञप्ती मार्फत छत्तिसगढमा माओवादीका महासचिव तहका उच्च पदस्थ नेता नै मारिनु भारतीय सुरक्षा बलका लागि निकै ठूलो सफलता हो भनेका छन् । गृहमन्त्री शाहले नक्सलवादविरुद्ध भारतले तीन दशकदेखि लडिरहेको र युद्धमा यति धेरै बिद्रोही मारिएको यो नै पहिलो घटना भएको बताएका छन् ।
उनको अभिव्यक्तिबाट पनि यो पुष्टि हुन्छ कि, मोदी सरकार आफ्नै देशमा अधिकारका निम्ति विद्रोह गरिरहेका नागरिक मारिनुलाई सफलता मानिरहेको छ ।
यता, छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव सायले बसवराजुसहित २६ जना ‘नक्सल’ लडाकुहरूको हत्याले बिजयको सुरुवात भएको बताएका छन् । उनले भनेका छन्,–‘विजयको शंखनाद जारी छ । भारतमा नक्सलवाद अन्त हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीजी र गृहमन्त्री अमित शाहजीको नेतृत्वमा २०२६ को मार्चसम्म देशबाट नक्सलवाद अन्त्य गरिनेछ ।’ उनले भारतीय नक्सलवादलाई अन्त्य गर्ने संकल्पलाई सशक्त रूपमा अघि बढ्ने भन्दै भारतीय सुरक्षाबलका जवानहरू लगातार सफलता प्राप्त गर्दै लक्ष्यतर्फ तीव्र गतिमा अघि बढिरहेको बताए ।
मुख्यमन्त्री सायले नारायणपुरमा छत्तीसगढ प्रहरीको (डी.आर.जी.) युनिटद्वारा कठिन भौगोलिक परिस्थिति र अनेकौं चुनौतीको बाबजुद वामपन्थी उग्रवाद विरुद्ध निर्णायक अभियान पूर्ण प्रतिबद्धता र दृढ संकल्पका साथ सम्पन्न भइरहेको बताएका छन् । यसकै परिणामस्वरूप अहिलेसम्म २७ जना नक्सलीहरू मारिएको उनको भनाई छ ।
मुख्यमन्त्री सायले भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नम्बाला बसवराजुलाई ‘कुख्यात’ नक्सली नेताको संज्ञा समेत दिएका छन् । उनले भनेका छन्, ‘कुख्यात नक्सली नेता नम्बाला केशव राव भनिने बसवराजुको अन्त्य भएको छ । यो खुसीको कुरा हो ।’
तर, भारतीय आदिबासी जनताको मुक्ति र परिवर्तनका लागि लडिरहेका नागरिकमाथि गोली बर्साउनु र आफ्नै देशका नागरिक माएिकोमा हर्षोल्लास मनाउनु मोदी सरकारको बर्बरताको पराकाष्ठा हो । भारतीय सुरक्षा बलले ‘अपरेसन कागर’ नामक कारबाहीको नाममा छत्तीसगढको घनाजंगलभित्र २६ जना जीवन्त सपनाहरूको हत्या गरेको छ । सो घटनामा भारतीय जनताको मुक्तिका निम्ति समर्पित बसवराजुको दुखद अन्त्य भयो । बसवराजुले पूँजीवादी शोषण र राज्यद्वारा संस्थागत अन्यायको विरुद्ध दशकौँदेखि आवाज उठाउँदै आएका थिए ।
बसवराजु केवल एक नेतामात्र थिएनन् । उनी विचारको दीप थिए । जसले करोडौँ शोषित, उत्पीडित समुदाय र जातीय तथा वर्गीय विभेदमा पिल्सिएका जनताको मुक्ति र उज्यालो दिनको पर्खाइमा जिवन समर्पण गरेका थिए । बुधबार भारतीय सुरक्षाबलको बन्दुकले उनको शरीर चिरेर आत्मा उडायो । त्यस क्षण केवल एक व्यक्ति होइन, एउटा युग, एउटा विचार, एउटा सपनासमेतको शहादत भयो । व्यक्ति मर्न सक्छ, तर विचार मर्दैन । बसवराजुको शरिरलाई समाप्त गर्न एउटा गोली काफी थियो । तर, उनले छोडेर गएको बिचारलाई समाप्त गर्न करोडौँ गोलीले समेत सक्नेछैन ।
बसवराजु र उनीसंगै माएिका २६ जनाको बलिदान र योगदान केवल इतिहासका पानामा सीमित हुने विषय होइन । त्यो त बलिदान हो, जसले हाम्रा पाइला जनसत्ताको बाटोमा अझ दृढ बनाउँछ । यो त्यस्तो आगो हो, जुन लहर बन्दै देशको कुना–कुना छुन जान्छ । बसवराजुहरूले देखेको सपना, लडेका लडाइँ, बगाएका रगत स्मृतिमा केवल शोक होइन, प्रतिज्ञा बनेर बाँचिरहन्छ ।
भारतीय फाँसीवादी निरिह सरकारले बसवराजुलगायतको हत्यालाई ‘सैन्य सफलता’ भनेर घोषित ग¥यो । तर यो विजय थिएन । यो त मोदी सरकारको कायरता थियो । मोदी सरकारको डरले भरिएको आत्मा, जुन विचारसँग लड्न नसकेर बन्दुकको भर पर्न बाध्य बन्यो । यो कुनै सैन्य कारबाही थिएन—यो एक विचारमाथिको प्रहार थियो । स्वतन्त्रताका हत्या थियो, उन्नत चेतनामाथिको हमला थियो ।
भारतको माओवादी आन्दोलन सन् १९६७ को नक्सलवादी विद्रोहबाट सुरु भएको थियो । त्यस दिनदेखि अहिलेसम्म, यो आन्दोलनले भूमिहीन किसानहरू, श्रमिक वर्ग, दलित र आदिवासी जनसमुदायलाई न्यायको आशामा संगठित गर्दै ल्याउँदै आएको छ । तर यस्तै आन्दोलनहरूलाई भारतीय राज्यसत्ता सधैं बन्दूकबाट टुक्राउन खोज्दै आएको छ ।
‘अपरेसन कागर’ त्यसैको अर्को उदाहरण हो । जहाँ बन्दूकले विचारहरूमाथि विजय प्राप्त गर्न खोजिएको छ । के बन्दूकले साँचिकै विचारलाई हराउन सक्छ? के गोलाबारुदले सपनाहरूलाई मेट्न सक्छ? पक्कै पनि होइन । बन्दुकले शरिर ढाल्न सक्छ । बिचार होइन । बसवराजुको मृत्यु उनीहरूको अन्त्य होइन, त्यो त जनसंघर्षको अर्को अध्यायको आरम्भ हो ।
आखिर को थिए त बसवराजु ?
बसवराजु आन्ध्र प्रदेशको श्रीकाकुलम् जिल्लास्थित जियन्नापेटा भन्ने सानो गाउँमा सामान्य परिवारमा जन्मिएका थिए । उनले वारङ्गलको क्षेत्रीय इन्जिनियरिङ कलेजबाट बीटेक पास गरेका थिए । यथार्थमा उनी केवल बन्दुक उठाउने विद्रोही मात्र थिएनन्, उनी एक शिक्षित क्रान्तिकारी पनि थिए । उनी विस्फोटक पदार्थसम्बन्धी ज्ञाता समेत मानिन्थे । उनले सुरक्षित र सुविधायुक्त जीवन छोडेर संघर्ष रोजे ।
जनताको दुःखमा रमाउने भएकाले पनि उनले शोषित पीडित जनताको मुक्तिका लागि कठोर यात्रा रोजेका थिए । बसवराजु एक कुशल संगठक, विचारक र सैन्य रणनीतिकार पनि थिए । उनले हजारौं जनताको चेतनाको दियो बनेर उज्यालो प्रकाश छरिरहेका थिए ।
उनले सम्पूर्ण शोषित पीडित भारतीय जनताको मुक्तिका लागि बिद्रोह गरेकै कारण भारतीय सरकारले उनलाई ‘मोस्ट वान्टेड’ घोषित गरेको थियो । मोदी सरकारले बसवराजुको टाउकोको मूल्य १.५ करोड तोकेको थियो । किनभने उनले बन्दूक मात्र बोकेका थिएनन् । उनले बिचार पनि बोकेका थिए । जनताको मुक्तिको सपना बोकेका थिए । जुन सपनाले मोदी सरकार र उसको दरबारलाई हल्लाएको थियो । बसवराजुले देखेको सपनाले सत्ताका लागि त्रासदीपूर्ण थियो ।
सन् १९७० ताका भारतका ग्रामीण क्षेत्रहरूमा सामाजिक अन्याय र राज्यविरुद्धको असन्तुष्टिले विद्रोहको रूप लिन थालेको थियो । त्यसै दशकदेखि बसवराजु माओवादी आन्दोलनमा लागेका थिए । आन्दोलनमा समर्पित बसवराजुले गङ्गन्ना, कृष्ण, नरसिंह र प्रकाशजस्ता नामहरू प्रयोग गर्दै भूमिगत रूपमा लामो समयसम्म आफ्नो गतिविधि सञ्चालन गरेका थिए ।
सन् २०१८ मा उनले भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को महासचिवको जिम्मेवारी सम्हाले । यसअघि उक्त पद मुप्पाला लक्ष्मण राव (गणपति) ले सम्हालेका थिए । उनले २००४ मा ‘पीपुल्स वार ग्रुप‘ र ‘माओवादी कम्युनिस्ट सेन्टर‘ कोे एकीकरणपछि पार्टीको पहिलो महासचिवको रूपमा नेतृत्व सम्हालेका थिए । गणपति करिब एक दशकसम्म संगठनको शीर्षमा बसेपछि फिलिपिन्सतर्फ पलायन भएको विश्वास गरिन्छ ।
बसवराजुलाई केवल नेतृत्वको उत्तराधिकारी होइन, रणनीतिक योजनाकारको रूपमा पनि चिनिन्थ्यो । भारतमा भएका थुप्रै रक्तपातपूर्ण माओवादी हमलाहरूमा उनको प्रत्यक्ष संलग्नता रहेको मानिन्छ । उनका योजनाहरूले भारतको सुरक्षा संयन्त्रलाई पटक–पटक चुनौती दिएको थियो, र राज्यसत्तालाई झस्काउने काम गरेको थियो ।
उनको उदय ¥याडिकल स्टुडेन्ट्स युनियनबाट भएको थियो । उक्त युनियनलाई दशकौंदेखि माओवादी विचारधाराको उत्पादन केन्द्र मानिने गरिन्छ । यो युनियन दक्षिण भारत, विशेष गरी तेलङ्गाना र आन्ध्र प्रदेशका विद्यार्थी आन्दोलनहरू नक्सली आन्दोलनको ‘विश्वविद्यालय’जस्तै थियो, जहाँबाट बसवराजु जस्ता नेताहरू जन्मिए । बुधबार छत्तीसगढका नारायणपुर, बीजापुर र दन्तेवाड़ा जिल्लाको त्रिकोणीय सीमामा पर्ने अबूजमाड क्षेत्रको घना जंगलमा बसवराजु लगायत २६ जनाको हत्या गरिएको थियो । ७० वर्षीय बसवराजुको मृत्युसँगै विद्रोही संगठनले वैचारिक, रणनीतिक तथा सांगठनिक दृष्टिले अत्यन्तै मूल्यवान नेताको क्षति व्यहोर्नुपरेको छ ।