२९ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री तथा कांग्रेस केन्द्रिय सदस्य डा. रामशरण महतले काठमाडाैं-तरार्इ द्रुत मार्ग (फाष्ट ट्र्याक) नेपालीकै लगानीमा बनाइनुपर्ने बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तराष्ट्रिय बोलपत्र अाह्वान गरिसकेकाले विदेशीलार्इ नै बनाउनु दिनुपर्ने बताएको भोलीपल्ट डा. महतले स्वदेशी लगानीमै बनाउनुपर्ने बताएका हुन् ।
देउवाले मंगलबार संसदमा सम्बोधन गर्दै भारतीय कम्पनीलार्इ फाष्ट ट्र्याक निर्माण गर्न दिनुपर्ने अाशयको वक्तव्य दिएका थिए । तर, बुधबार राजधानीको नयाँ बसपार्कमा अत्याधुनिक सपिग कम्प्लेक्स बिजि मल उदघाटन गर्दै महतले नेपालीकै लगानीमा फाष्ट ट्र्याक अागामी पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने बताए ।
विदेशी लगानीलाई पनि स्वागत गरिएको अवस्था रहेको भन्दै विदेशी लगानी स्थगित गर्ने वा आफैंले लगानी गर्ने भन्नेमा ठोस निष्कर्ष निकाल्नुपर्ने उनको भनार्इ थियो ।
केपी ओली नेतृत्वको सरकारलाई लक्षित गर्दै डा. महतले भने- ‘हल्ला गरेर केही हुँदैन, काम गरेर देखाउनु पर्यो । हामीसँग नीतिको हैन, कार्य क्षमताको मात्र अभाव छ । भाषणले मुलुक बन्दैन ।’
उदार अर्थ नीति लागू भए पछि मुलुकको आर्थिक विकासमा काया पलट भएको बताएका उनले ठुला आयोजनाहरु फाष्ट ट्र्याक, बूढी गण्डकी लगायतका आयोजना आफ्नै लगानीमा निर्माण गर्न सके राम्रो हुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले खुला अर्थ व्यवस्थामा निजी क्षेत्रको सहभागिताका कारण नै अर्थतन्त्र फष्टाएको बताए । बिजि मल जस्ता ठुला व्यवशायिक प्रतिष्ठानले रोजगारी श्रृजना गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपुर्ण योगदान पुर्याएको बताए । सरकारमा जो सुकै भए पनि निजी क्षेत्रलाई प्रोत्साहित गर्दै हातेमालो गर्नु पर्नेमा महासंघ अध्यक्ष मुरारकाले जोड दिए ।
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले बिजि मल जस्ता व्यवशायिक प्रतिष्ठानका कारण पनि राजश्व असुली बढेको भन्दै बिजि मलले आगामी दिनमा करका माध्यमबाट योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
सबै वर्गका ग्राहकहरुलाई लक्षित गरी काठमाण्डौंको गोंगबुस्थित नयाँ बसपार्कमा बिजि मल सञ्चालनमा ल्याइएको मलका निर्देशक राजु गिरीले जानकारी दिए । ‘गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पुर्ण आवश्यकीय सामाग्री तथा मनोरञ्जनका स्थलसहित हामीले बिजि मल संचालनमा ल्याएका छौं,’ निर्देशक गिरीले भने- ‘अन्तराष्ट्रियस्तरका विद्युतीयदेखि लत्ता कपडा लगायतका गुणस्तरीय सामग्री हाम्रा ग्राहक महानुभावहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउन हामी प्रतिबद्ध छौं ।’
उद्घाटनको अवसरमा मलले ग्राहकरुलाई २० प्रतिशत छुटको व्यवस्था गरेको उनले जानकारी दिए । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ६० वटा पसल तथा शोरुम सञ्चालनमा आईसकेका छन् ।