राजविराज, ३ जेठ । भन्सार छलेर ठेलामा ल्याउँदै गरेको रु दुई लाख मूल्य बराबरको अवैध कपडा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–२ बाट आइतबार साँझ पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको टोलीले कोसी ब्यारेजबाट भन्सार छलेर ल्याउँदै गरेको सर्ट, पेन्ट, कुर्ता सुरुवाल र साडीलगायतको सामान बरामद गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
साथै सो सामान ल्याउने सुनसरीको हरिपुर–७ का कैलास यादवलाई समेत पक्राउ गरिएको बताइएको छ ।
पक्राउ परेका मानिस र सामानलाई राजविराज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।