एक किलो बोकाको मासुलाई ४ हजार !

दियो पोस्ट  

(नारायण ढुँगाना)

रत्ननगर (चितवन), ४ जेठ । बोकाको एक किलो मासुको मूल्य कति ? रु ५००, ६०० वा ८०० । ठाउँ अनुसार फरक÷फरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० मा त किनबेच नै भइसक्यो ।

पश्चिम चितवनको जगतपुरबाट नुवाकोटका अमृत तिवारीले एउटा ८० किलोको प्योर बोयर (क्रस नगरेको शुद्ध बोयर) जातको बोकालाई रु तीन लाखमा खरिद गरेर लगे  । उनले अझै केही बाख्राको समेत माग गरेका छन्  । काठमाडौँका कल्पदीप राईले ८२ किलोको बोका रु तीन लाख नौ हजार बुझाएर लगे ।

‘म सँग एउटा बोका छ, त्यसलाई रु नौ लाख दिँदा पनि दिएको छैन,’ जगतपुरका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्काले भने – ‘यो बोका ब्याडका लागि राखेको छु ।’ पन्चानब्बे किलोको उहाँसँग भएको त्यो बोकाको लागत मूल्य करिव रु ५ लाख छ ।
यो एउटा उदाहरण मात्रै हुन् । अलि ठूला बोकाको मूल्य प्रतिकिलो रु ६ हजारसम्म पर्ने जगतपुरमा बोयर जातका बाख्रा पाल्दै आउनुभएका व्यवसायी खड्काले बताए  । यो दुईवटा बोका अलि सस्तोमा बेचिदिएको उनको भनाइ छ ।

‘एकसय प्रतिशत प्योर बोयर बोकाको प्रतिकिलो मूल्य रु पाँच हजार पर्छ, ग्रेड छुट्याएर राखिएको सबैभन्दा राम्रो बोकाको प्रतिकिलो रु ६ हजारभन्दा बढी पर्छ,’ खड्काले भने ।

विसं २०७० देखि चितवन सदरमुकाम भरतपुरबाट २० किमी पश्चिम जगतपुरमा खड्काले ‘जगतपुर एग्रो प्रालि’ सञ्चालन गरेका छन् । दक्षिण अफ्रिकाबाट उनले बोयर जातको बाख्रा ल्याएर व्यावसायिक बाख्रापालन थालेका  छन्  ।

‘अहिलेसम्म बीउ उत्पादनमै ठिक्क छ,’ खड्काले भने  – ‘पछि फस्टाउँदै जाँदा भने अन्य खसीबोका सरह मासु दिन सकिन्छ होला ।’ यो जातको बाख्रा छिटो बढ्ने र तौल राम्रो हुने भएकाले व्यावसायिक भएपछि भने लोकल खसी बाख्राको मूल्यमा दिन सकिने सम्भावना रहेको उनि बताउछन्  ।

अहिले उनले बीउ उत्पादनकै लागि बोबा बाख्रा बेचिराखेका छन्  । दक्षिण अफिकाबाट ल्याएर यो जातको बाख्रा पाल्ने आफू नै पहिलो भएको दाबी गर्ने खड्काले अहिले करिब रु दुई करोड लगानीमा बाख्रापालन थालेको बताए । सुरुमा उनले  १७ वटा प्योर बोयर जातका बोका बाख्रा दक्षिण अफ्रिकाबाट ल्याएका  थिए ।

चारवटा बोकालाई रु १३ लाख र १३ वटा अन्य बाख्रा ल्याउँदा रु ३९ लाख लाग्यो । खड्काले यो वर्ष अझै नयाँ ५० वटा ल्याउन लागेका छन्  । बाख्रा ल्याउँदा भाडा नै एउटा बोकाको ७० हजार लागेको स्मरण सुनाउँदै उनले  १० प्रतिशत भ्याटलगायत पैसा तिर्नुपरेको बताए  । मुख्यगरी यो जातका बाख्रामा बोसो कम हुने, तौल चाँडो बढ्ने, खाँदा मासुपनि राम्रो हुने भएकाले अरु भन्दा फरक भएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्की बताउछन  ।

सरकराले ल्याएको सहुलियत ब्याजको रु एक करोड रकम ल्याएर खड्काले यहाँ व्यवसाय सुरु गरेका छन्  । हाल खोरमा १७४ वटा बोका र बाख्रा छन् । छ बिगाहा क्षेत्रमा चरनसमेत गरिएको छ । घाँसपालन पनि छ । व्यवस्थित खोरमा पालिएका छन् बाख्रा । उनले अहिलेसम्म रु १९ लाखको मात्रै बेच्न पाएका छन्  ।

काटेर खान अहिलेसम्म उत्पादन गराउन नसकेको यो बाख्रापालन अहिले विभिन्न जिल्लामा सुरु भएको डा कार्की बताउछन् । जमुनापारी बाख्राको व्यावसायिक पालन भने चितवनको पहाडी क्षेत्रमा फस्टाएको छ । विपन्न समुदाय र विशेष गरी चेपाङहरुले त्यस्ता बाख्रा पालेका छन् । तर बोयर जातको भने पालन न्यून छ ।

यसरी बढ्छ तौल

सामान्य गाउँघरमा पालिएका बाख्रा एक दिनमा करिब ३५ देखि ४० ग्रामसम्म बढ्छ । तर बोयर जातको बाख्रा उही खानामा एक दिनमा क्रस गरिएका बोका १५० देखि २०० ग्राम र प्योर बोयर ४०० ग्रामसम्म बढ्ने खड्का बताउछन्  । दुई महिनामै १८ देखि २२ किलोसम्म आफ्नै खोरमा उत्पादन भएको उनको दाबी छ । हेर्दा सानो देखिन्छ तर तौल धेरै हुन्छ ।
यसका खुट्टा छोटा हुने भएकाले साना देखिने गरेको स्थानीय पशुपालक व्यवसायी भागिरथ तिमिल्सिना बताउछन  । अहिले उहाँको खोरमा एउटा ९५ किलोको बोका छ । उक्त बोकालाई रु नौ लाख दिँदा समेत नदिएको खड्का बताउछन  ।

‘ग्राहक धेरै आउन थाले बीउ नै पु¥याउन सकेको छैन,’ खड्का भछन्  – त्यो बोका ब्याडका लागि हो । सबैले आँखा लगाउँछन् । हेर्दै सलक्क परेको बोका छ ।

विसं २०६५ देखि नै यो जातको बाख्रापालन सुरु भएको हो । झापा, स्याङजा, रामेछाप, चितवनलगायत जिल्लामा यो जातका बाख्रा पाल्न थालिएको छ । तनहुँको बन्दीपुरमा सरकारी क्षेत्रकै स्रोत केन्द्रमा समेत यो बाख्रा छन् र अनुसन्धान भइरहेको छ ।

म्याग्दीमा जन्मेर काठमाडौँमा हुर्कनुभएका खड्का १० वर्ष निर्माण व्यवसायी बन्नुभयो । मार्सल आर्टका कुशल खेलाडी उहाँले खेल्न विदेश जाँदा आफूले देखेकालाई यहाँ व्यवहारमा उतारेको बताउछन् । रासस