रामपुर ९पाल्पा०, ६ जेठ । रामपुर–१३ कुमराङका सूर्यबहादुर रामजालीले सरकारी जागिर छाडेर व्यावसायिक बङ्गुरपालन गरिरहेका छन् ।
एघार वर्षसम्म नेपाली सेनामा कार्यरत रामजाली बीचमै जागिर छाडेर यस व्यवसायमा लाग्नुभएपछि उहाँ अहिले जिल्लामै नमुना बङ्गुर फार्म व्यवसायीका रुपमा चिनिएका छन्। उहाँले रु २० लाखको लगानीमा फार्म सञ्चालन गर्नुभएको हो ।
धरान र पोखराबाट खरिद गरेर ल्याएका ल्यान्डरेस, ड्युरो, पाख्रीबास कालो बङ्गुर, चाइनिज मेसान र हेम्पसायर जातको बङ्गुर उनको फार्ममा रहेका छन् । “सरकारी जागिरले परिवारको गुजारा चलाउन निकै गाह्रो भएको हुँदा यस व्यवसायमा लागेको हुँ”, उनले भने ।
रामजालीको फार्ममा अहिले १५ वटा माऊ, दुईवटा पाठा र ४३ वटा बच्चा गरी ६० वटा बङ्गुर रहेका छन् । तीन वर्षदेखि उक्त व्यवसाय गर्दै आएका उनले वार्षिक रु रु सात लाखसम्म आम्दानी गरिरहनुभएको छ । दश रोपनी जग्गामा फार्म निर्माण गर्नुभएका रामजालीले करिब १५० सम्म बङ्गुर पाल्ने सोच बनाएका छन् । सो बङ्गुर फार्म हेर्नेको दिनहुँ भीड लाग्ने गरेको छ ।
पाल्पासहित स्याङ्जा, तनहुँदेखि बच्चा खरिद गर्न आउने गरेका उनले बताए । सो व्यवसाय गर्न जिल्ला पशुसेवा कार्यालयले खोर सुधारका लागि रु ७२ हजार अनुदान रकम उपलब्ध गराएको वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताए । बजार व्यवस्थित नहुँदा किसानलाई बङ्गुर बिक्री गर्न समस्या भएको बताइएको छ