काठमाडौँ, १३ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गरायो ।
उनीहरुले पछिल्लो दिनमा महिला हिंसा बढेको, बलात्कार तथा दुव्र्यवहार गर्नेलाई कारबाही नगरेको, शैक्षिक क्षेत्रमा माफियाकरण र व्यापारीकरण बढेको, शिक्षा क्षेत्रमा विकृति भित्र्याउन सरकारी कर्मचारी नै लागेको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरे ।
हावाहुरीका कारण मुलुकका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको तर पीडितलाई राहत दिनेतर्फ ध्यान दिन नसकिएको उनिहरु गुनासो थियो । भूकम्पपीडित जनताले राहत नपाएको, सरकारी निकायले पीडितलाई राहत दिन तदारुकता नदेखाएको, पीडितलाई दिने राहतमा पक्षपात भएको गुनासो गरे ।
भूकम्पपीडितलाई ठूला बैंकले राहत वितरण गर्न अनिच्छा व्यक्त गरेको अवस्थामा राष्ट्रिय सहकारी विकास बैंकलाई सो कार्य गर्न दिनसमेत बैठकमा सांसदले आग्रह गरे ।
यसरी धारणा राख्ने सांसदहरुमा अनिता देवकोटा, अनुराधा थापा मगर, अमरसिंह पुन, अष्टलक्ष्मी शाक्य बोहरा, कमलप्रसाद पङ्गेनी, आङ्टावा शेर्पा, कान्ता भट्टराई, केशव बडाल थिए ।
यसअघि सांसद जङ्गीलाल रायले मधेसवादी, आदिवासी, जनजातिलगायतले उठाएका माग सम्बोधन गर्न सरकारले ध्यान नदिएको भन्दै संसद्को बैठक बहिष्कार गर्ने जानकारी गराए ।
सभामुख ओनसरी घर्तीसँग समय मागेर उनीहरुले सरकारले आन्दोलनरत पक्षको माग सम्बोधन गर्नेतर्फ ध्यान नदिनु दुःखद रहेको बताए ।
सोलगत्तै मधेसवादी दलका सांसदहरुले सदनको कारबाही बहिष्कार गर्दै बाहिरिनुभएको थियो । सदनको कारबाही बहिष्कार गर्नेहरुमा सङ्घीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टीलगायत दल सम्बद्ध सांसदहरु थिए ।