
काठमाडौँ, जेठ १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकालको अन्तिम बजेट बुधबार संसदमा पेश गर्दैछन् । राष्ट्रिय सभाका लागि २ बर्षका लागि मनोनित भएका अर्थमन्त्री खतिवडाले लोकप्रिय बजेट ल्याउने तयारी गरेका छन् । बुधबार ४ बजे संघिय संसद भवनमा प्रदेश सभा र राष्ट्रिय सभाको संयुक्त वैठकका बिच सार्वजनिक हुने बजेटको आकार करिब १५ खर्बको हुने छ ।
यसअघिको आर्थिक बर्षमा डा. खतिवडाले सार्वजनिक गरेका बजेटप्रति सरकारपक्षकै सांसदहरुले टिप्पणी गरेका थिए । संविधानको मर्म अनुसार बजेट ल्याइने उनले बताएका छन् । यसअघि उत्पादन र भौतिक पुर्वाधारमा विशेष जोड दिइएको छ । बजेटलाई व्यवहारिक र कार्यन्वयनमुखी बनाउन समेत जोड दिइएको छ ।
सरकारले भौतिक पुर्वाधार, उर्जा, पर्यटन, कृषी लगायतका क्षेत्रहरुलाई विशेष प्राथमिकता दिएपनि केही महत्वाकांक्षी योजनाहरुलाई समेट बजेट छुट्याइएको छ । प्रधानमन्त्री ओलीको घोषणा अन्तर्गत रेलमार्ग र रेल खरिदका लागि समेत बजेट छुट्याइएको छ । प्रधानमन्त्रीकै दबावमा पानीजहाजका लागि समेत बजेट विनियोजन गरिएको छ ।
आर्थिक बर्ष २०७६÷०७७ मा कर्मचारीको तलब समेत बढ्ने भएको छ । स्रोतका अनुसार करिब २० प्रतिशतले कर्मचारीको तलब बृद्धी हुने अनुमान गरिएको छ । सरकारले वृद्धाभत्ता समेत बढाउने बताइएको छ ।
चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो । कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।