काठमाडौं, २२ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारीबाट जोगिन मुलुक यतिबेला लकडाउनमा छ । नागरिकहरु घरबाट निष्कन पाएका छैनन् । मुलुकमा फैलिएको कोरोना संक्रमण बढ्दो क्रममा छ । तर, शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले आगामी वैशाख २६ गतेबाट विद्यालयहरुमा भर्ना अभियान शुरु गर्ने अभिव्यक्ति दिएपछि नेकपा भित्रैका विद्यार्थीदेखि अभिभावक रुष्ट बनेका छन् ।
शिक्षा मन्त्रीले यस्तो प्रस्ताव राखेपछि कतिपय विद्यार्थी संगठनका नेताले मन्त्री पोखरेललाई शैक्षिक माफियाको नाइकेसम्म भन्न भ्याएका छन् ।
पूर्व माओवादी निकट अखिल क्रान्तिकारीका तिलकराज भण्डारीले शिक्षा मन्त्रीले अध्यादेशकै शैलीमा भर्नाको अभिव्यक्ति दिएको बताए ।
‘कोरोनाको संक्रमण बढ्दै छ । लकडाउनका कारण विद्यार्थी र अभिभावक विभन्न मनोवैज्ञानि त्राशमा छन् । केहीदिन पहिलेको छलफलमा शिक्षा मन्त्रीले नै सबैभन्दा ढिलो शिक्षण संस्था खोल्ने कुरा गर्नु भएको थियो,’ भण्डारीले भने,‘आज एक्कासी बैशाख २६ गतेदेखि नै भर्ना अभियान सञ्चालन गर्ने शिक्षामन्त्रीले गर्नुभएको घोषणाले नीजि विद्यालयलाइ ‘फी उठाउन’ त सजिलो होला । तर सम्पूर्ण विद्यार्थीहरु भर्ना अभियानमा सहभागी हुने स्थिति छैन । यो अध्यादेश शैली नअपनाऔं न ।’
त्यस्तै अभिभावक संघका केन्द्रीय अध्यक्ष केशव पुरीले पनि शिक्षा मन्त्रीले हिटलर शैलीमा यस्तो प्रस्ताव अघि सारेको बताए ।
‘यतिबेला कोरोना संक्रमण बढ्दो छ । सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था छ । मन्त्रीले अनलाइन कक्षादेखि भर्ना खुलाउनेसम्मका अभिव्यक्ति दिनु भएको छ । यो हिटलर शैली हो,’ उनले भने,‘नीजि क्षेत्रको यतिबेला सबैभन्दा ठूलो पैसा उठनपुठनको समय हो । विद्यार्थीहरुलाई अरु तयारी गरेर कसरी जोगाउने भन्नेबेलामा मन्त्रीको यो अभिव्यक्ति शैक्षिक माफियाहरुलाई फाइदा पुग्ने खालको छ ।’
सरकारले वैशाख २६ गतेदेखि विद्यार्थी भर्ना खुला गरे अभिभावकले आफ्ना बालबालीकाको ज्यानको सुरक्षाको लागि भर्ना अभियान बहिष्कार गर्ने बताए ।
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले आइतबार आगामी वैशाख २५ गते लकडाउनको मोडालिटी परिवर्तन हुने र विद्यार्थी भर्ना अभियान पनि शुरु गरिने अभिव्यक्ति दिएका थिए । नेकपाकै एक विद्यार्थी नेताले भने शिक्षा मन्त्रीलाई शैक्षिक माफियाको नाइके भनेका छन् ।