
काठमाडौं, २३ वैशाख । कोरोना भाइरस (कोभिड (१९ )को संभावित महामारीबाट रोक्न सरकारले मुलुकलाई लकडाउनमा राखेको छ । अत्यावश्यक काम बाहेक नागरिकले घरबाट निष्कन पाउँदैनन् । तर, यस्तो आपतकालमा केही बैंकले भने आफ्ना कर्मचारीमाथि ज्यादती गर्न थालेको खबर छ ।
आफूलाई मुलुककै ठूलो बैंक दाबी गर्दै ग्लोबल आइएमई बैंकले आफ्ना कर्मचारीमाथि ज्यादती गरेको पाइएको हो । त्यसो त कुमारी बैंकमा व्यबस्थापनका कारण २८ जनाले बैंक छोडेको घटना आएको केहि दिन पनि वितेको छैन ।
व्यक्तिगत दूरी कायम गर्न कर्मचारीहरु काममा जान नसकेको मौकामा ग्लोबल आइएमई बैंकले कर्मचारीलाई आफू अनुनुकल प्रयोग गर्दै कर्मचारीलाई पेल्न थालेको छ ।
ग्लोबल आइएमई बैंकले कर्मचारीले वार्षिक रुपमा पाउने १५ दिनको विदा यहि बेलामा लिनुपर्ने वाध्यकारी नियम लागू गर्दै कर्मचारीलाई सर्कुलर जारी गरेको छ ।

उक्त १५ दिनमा ८ दिन अनिवार्य यहि लकडाउन अवधिलाई वार्षिक विदाका रुपमा गणना गर्ने भन्दै कर्मचारीलाई सर्कुलर जारी गरिएको छ । अन्य वित्तीय संस्थामा यस्तो कुनै पनि वाध्यकारी व्यवस्था छैन । गत १५ अप्रिलमा जारी भएको सर्कुलर अनुसार कर्मचारीले वार्षिक रुपमा पाउने १५ दिनको बिदा यही लकडाउनमा कटाउने उल्लेख गरिएको छ । ग्लोबल आइएमई बैंकले कर्मचारी सेवा नियमावलीलाई समेत गलत रुपमा व्याख्या गरेको पाइएको छ । सर्कुलर जारी भएको ३ दिनपछि अर्थात १९ अप्रिलदेखि नै लागु हुने गरी बिदा कायम गर्न समेत सर्कुलरमा उल्लेख छ ।
त्यस बिषयमा बैंकका प्रदेश ३ का प्रमुख सञ्जय शर्माले बिरोध जनाएपछि बैंकले उनलाई जागिरबाट हटाएको स्रोतको दाबी छ ।
त्यस्तै,ग्लोबल आइएमई बैंकले करारमा रहेका कर्मचारीहरुलाई धमाधम निकाल्न थालेको छ ।
कर्मचारीमाथि जबरजस्ती बिदाको सर्कुलरमा प्रमुख कार्यकारी अधिकृत सिइओ परशुराम कुँवरले हस्ताक्षेर गरेका छन् ।
कुँवर र बैंक व्यवस्थापनबीच समेत तालमेल नमिलेको बताइएको छ । मर्जरअघि जनता बैंकका सिइओ रहेका कुँवरले व्यवस्थापनसँग सम्बन्ध चिसिएपछि रिपोर्टिङ समेत गर्न पाएका छैनन् । बैंकका अध्यक्ष तथा उद्योग वाणिज्य महासांघका उपाध्यक्ष चन्द्र ढकाललाई उनकै बन्दु डेपुटी सिइओ महेश ढकालले रिपोर्टिङ गर्न थालेका छन् ।
ग्लोबल आइएमई बैंकको जस्तै कर्मचारीलाई पेल्ने शैली एनएमबी, एनआइसी एशिया, प्रभु, माछापुछ्रे, सनराइजलगायतका बैंकहरुले पनि अपनाउन थालेका छन् ।
कर्मचारीमाथि ज्यादती बढेपछि वित्तिय संस्थाका अधिकांश कर्मचारी समस्यामा परेका छन् ।