काठमाडौँ, २६ वैशाख । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । यद्धपी नेपाल सरकार भने नेपाली भूमिमा भारतीय ज्यादती भइरहँदा समेत मौन समर्थन गरेर बसिरहेकको छ ।
भारतीय पक्षले नेपाल सरकारसँग कुनै सल्लाह नगरी उक्त सडक निर्माण गरेको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्स मार्फत उक्त सडक उद्घाटन गरिसकेका छन् ।
भारतले २०१९ को नोभेम्बरमा नयाँ राजनीतिक नक्सा जारी गर्दै नेपाली भूमि लिपुलेक, धार्चुला र लिम्पुयाधुरा लगायत क्षेत्र आफ्नो क्षेत्रमा समावेश गरेको थियो । नेपालमा उक्त राजनीतिक नक्साको विरोधमा आन्दोलन समेत चर्किएको थियो ।
नेपाल सरकारले कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न लागिरहेको बताइरहेको बेला भारतीय पक्षले सडक निर्माण गरेको हो ।
नेपाल सरकारले भारतीय पक्षको यस्तो ज्यादतीको बारेमा कुनै मुख खोलेको छैन ।
भारतीय रक्षा मन्त्री सिंहले भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्गको भारतीय सेना प्रमुखसहित उपस्थित रहेको कार्यक्रममा उद्घाटन गरेका हुन् । सिंहले उक्त सडक निर्माण गरेकोमा भारतको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) लाई धन्यवादसमेत दिएका छन् । सिंहले ट्वीट गर्दै बीआरओले सीमा जोड्नको लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा धन्यवाद समेत दिएका छन् ।
उक्त लिपुलेक क्षेत्र नेपाल–भारत सीमानाको लिम्पियाधुरा क्षेत्रदेखि निकै वर नेपाली भागमा रहेको सीमाविद् बुद्धिनारायण श्रेष्ठले बताउँदै आएका छन् । तर, नेपाल सरकारले भने आधिकारीक नक्सा समेत सार्वजनिक गर्न सकेको छैन ।