मातातिर्थमा अक्सिजन प्लान्ट निर्माण शुरु

दियो पोस्ट  

काठमाडौं, १५ जेठ । नगरस्तरीय आइसोलेशन केन्द्र सञ्चालन गर्दै आइरहेको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ सामुदायिक अस्पतालको अक्सिजन प्लान्ट जडानले तीव्रता पाएको छ ।

करिब ७४ लाख रुपैयाँ लागतमा जडान गर्न लागिएको प्लान्ट मुलुककै सामुदायिक अस्पतालमा पहिलो हो । जडान गर्न कम्पनीसँग सम्झौता भइसकेको र अबको एक महिनाभित्र अस्पतालले उत्पादन सुरु गर्ने चन्द्रागिरी नगरपालिका ८ का अध्यक्ष तथा नगर स्वास्थ्य संयोजक सन्तोष खड्काले जानकारी दिए ।

यो अक्सिजन प्लान्टबाट दैनिक ४० भन्दा बढी ठूलो सिलिन्डर भर्न सकिने छ । यतिबेला प्लान्टको फाउन्डेसनको काम धमाधम भइरहेको नगर भैतिक पूर्वाधार समिति संयोजक तथा वडा नं १५ का अध्यक्ष उत्तम राउतले जानकारी दिए ।

वडा कार्यालयको आन्तरिक स्रोत र दाताहरुको आर्थिक सहयोगमा यो अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो। हालसम्म दाताहरुबाट १५ लाख ७७ हजार रुपैयाँ संकलन भइसकेको छ । अझै पनि दाताहरुबाट सहयोग आउने क्रम जारी रहेको छ ।

नगरको स्वास्थ्य संयोजक खड्काका अनुसार नगरपालिकाबाट पनि सहयोग प्राप्त हुने छ। हाल नगरभित्र दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजनको माग भइरहेको र प्लान्ट स्थापनासँगै नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने उहाँको भनाइ छ ।

जेठ १ गतेदेखि सञ्चालित मातातीर्थको आइसोलेसन केन्द्रमा यतिबेला ३० शैयाबाट सेवा सुरु गरिएको थियो । आवश्यकताअनुसार बढाउन सकिने छ । प्रदेश र स्थानीय सरकारको सहयोगमा अन्य पूर्वाधार निर्माण भए पनि अस्पताल सञ्चालनमा आएको थिएन ।

नेपालमा कोभिड– १९ को दोस्रो भेरियन्ट आएसँगै चन्द्रागिरि नगरपालिमा संक्रमितको संख्या ह्वात्तै बढ्न पुगेको हो । त्यसपछि नगरको बैठकले अस्पताललाई आइसोलेसन बनाउने निर्णय गरेको थियो । नगरमा ४ हजार १ सय ८६ संक्रमितमध्ये ३ हजार ४ सय ८७ जनाले कोरोनालाई पराजित गरिसक्नु भएको छ ।

यतिबेला पनि नगरका २५ जना अझै आइसोलेसन र अस्पतालमा उपचारत हुनुहुन्छ । ६ सय २९ जना होम आइसोलेसनमा रहनु भएको छ । कोरोना सक्रमणकै कारण चन्द्रागिरि नगरपालिमा ५४ जनाले ज्यान गुमाइसकेको संयोजक खड्काले जानकारी दिए ।

सिफारिस